दशैँमा यात्रु र सवारी साधनलाई झमेला नगर्न राज्य व्यवस्था समितिका सभपाति खतिवडाको निर्देशन
काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले दशैँका अवसरमा सवारी साधनहरूको आवत जावतमा धेरै व्यवधान नहुने गरेर व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई फोन गरेर सभापति खतिवडाले दशैँका बेला आवागमनमा हुने कठिनाइहरूमा विशेष ध्यान दिन आग्रह गरेका हुन् । खतिवडाले भने, ‘सडकहरू भत्किएका छन् । पूरै निर्माण हुन नसके पनि भत्किएका सडकहरू मर्मत गर्ने, निजी, भाडा, पर्यटक तथा विभिन्न सवारी साधनहरूको रुट परमिटमा खुकुलो बनाउन आग्रह गरेको छु ।’
खतिवडाले सुरक्षा निकायहरूलाई पनि यातायातको सहजता र रुटपरमिटलाई लिएर यातायात व्यवसायीहरूलाई धेरै दु:ख नदिन निर्देशन दिएका छन् । सभापति खतिवडाको निजी सचिवालयका अनुसार दशैँका अवसरमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म तथा उत्तर, दक्षिण जाने लाखौँ यात्रु हुने भन्दै आवागमन सहज हुनुपर्ने बताएका छन् ।
विशेष गरेर काठमाडौं उपत्यकाबाट देशका विभिन्न जिल्लाहरूमा जाने यात्रु धेरै हुन्छन् । उनीहरूले प्रयोग गर्ने सवारी साधनलाई समस्या नदिन खतिवडाको आग्रह छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया