शेनपेन परियोजनाद्वारा युवाहरूलाई नि:शुल्क ग्राफिक डिजाइनिङ्ग तालिम प्रदान
काठमाडौं । काठमाडौंको बौद्ध, रामहिटीस्थित कानिङ सेडुप लिङ गुम्बाअन्तर्गतको शेनपेन परियोजनाले गुम्बाका संरक्षक श्रद्धय गुरुवर छ्योकी नीमा रिन्पोछेको आज्ञानुसार सञ्चालन गरेको ग्राफिक डिजाइनिङ्गका प्रशिक्षार्थीलाई खेन्पो पेमा लामाले प्रमाण पत्र प्रदान गरेका छन् ।
मंगलबार रामहिटीस्थित गुम्बामा आयोजित समापन समारोहमा खेन्पो पेमा लामाले प्रशिक्षार्थीलाई प्रवचन समेत दिएका छन् । प्रशिक्षणका क्रममा एकदिन पनि अनुपस्थित नभएका दुई जना प्रशिक्षार्थीलाई लामाले विशेष पुरस्कार पनि प्रदान गरेका छन् ।
शेनपेन परियोजनाअन्तर्गत साउन १ गतेदेखि ३ महिनासम्म नि:शुल्क ग्राफिक डिजाइनिङ तालिमको कार्यक्रम भएको थियो । तालिममा ३६ जना प्रशिक्षार्थी सहभागी भएका थिए । त्यसमध्ये २२ जना नियमित उपस्थित भई सफल्तापूर्वक तालिम पूरा गरेका छन् ।
ग्राफिक्स डिजाइनको ज्ञान नभएका युवाहरूलाई प्रशिक्षण दिइएको थियो । युवाहरूलाई उन्नत ग्राफिक्स डिजाइनिङ सीप प्रदान गरेर स्वरोजगारमूलक बनाउने उद्देश्यले शेनपेन परियोजनाले नि:शुल्क प्रशिक्षणको कार्यक्रम चलाएको हो ।
इस्लिङटन कलेजमा ग्राफिक डिजाइनिङ्ग विषयमा अध्यापन गराउँदै आएका प्रशिक्षक अनिश महर्जनले प्रशिक्षण दिएका थिए । महर्जन अनुभवी प्रशिक्षक हुन् ।
शेनपेनका लोपेन उग्र्येन दोर्जे लामाको पनि उपस्थिति रहेको थियो । लामाले प्रशिक्षार्थीलाई धन्यावाद र बधाइ दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया