भूकम्पमा १ सय ४३ जनाको मृत्यु, १ सय ६६ घाइते, सहयोगका नाममा रकम उठाउने ठगहरूबाट बच्न अनुरोध

काठमाडौं । भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा हालसम्म १ सय ४३ जनाको मृत्यु भएको छ ।

भूकम्पमा परी जाजरकोटमा १ सय ५ जना र रूकुम पश्चिममा ३८ जनाको मृत्यु भएको नेपाल प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भूकम्पमा परी जाजरकोटमा ८१ जना, रूकुम पश्चिममा ७९ जना, दैलेखमा ३ जना र जुम्लामा ३ जना गरी १ सय ६६ जना घाइते भएका छन् ।

घाइतेहरूको भेरी अस्पताल नेपालगंज, कर्णाली प्रादेशिक अस्पताल सुर्खेत, स्थानीय अस्पताल तथा शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा तत्काल जिल्ला प्रहरी कार्यालयहरू जाजरकोट र रुकुम पश्चिम, कर्णाली प्रदेश प्रहरी कार्यालय तथा गण सुर्खेत, चौरजहारी बेस क्याम्प, सल्यान र सुर्खेत समेतबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्दार कार्य गरिरहेको छ भने नेपाल प्रहरी अस्पतालबाट चिकित्सक प्रहरी नायव महानिरीक्षकको नेतृत्वमा स्वास्थ्यकर्मी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको मेडिकल टिम, सशस्त्र प्रहरी बल नेपाल समेतबाट खटिएको टोलीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक सहयोग वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नका साथै इन्टरनेट स्क्यामर वा एक्सपोलाइटरहरूबाट सावधान रहन समेत सबैमा नेपाल प्रहरीले अनुरोध गरेको छ ।

Published : Saturday, 2023 November 4, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया