भूकम्पपीडितलाई एकद्वारबाट राहत वितरण, व्यक्ति वा संस्थाले सिधै बाँड्न नपाउने

काठमाडौं । सरकारले जाजरकोटमा गएको भूकम्पबाट पीडितलाई व्यक्ति वा संस्थाहरूले सिधै राहत रकम वा कुनै पनि सामाग्री वितरण गर्न नपाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकबाट सरकारले एकद्वार प्रणालीबाट मात्रै राहत वितरण गर्ने निर्णय गरेको छ । राहत वितरणलाई व्यवस्थित गर्न एकद्वारको निर्णय गरिएको छ ।

सरकारले पीडितलाई कुनै पनि राहत सामग्री उपलब्ध गराउनका लागि सुर्खेतलाई मुख्य केन्द्र बनाएको छ । नेपालगञ्जलाई सहायक केन्द्र बनाएर राहत संकलन गर्ने निर्णय सरकारले गरेको छ ।

सुर्खेत र नेपालगञ्जमा संकलित सामग्रीहरू सरकारी संयन्त्रमार्फत् प्रदेश र स्थानीय सरकारले पीडितहरूलाई वितरण गर्ने सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताएकी छिन् ।

पीडितहरूलाई भेटेर राहत वितरण गर्दा त्यसको कुनै रेकर्ड नहुने, कसैले दोहोरिएर राहत पाउने र कसैले एकपटक पनि नपाउने अवस्था हुने समस्या हुने भएकाले राहत वितरणलाई एकद्वार बनाउने निर्णय सरकारले गरेको छ ।

सरकारले जाडोयाम भएकाले ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई तत्काल न्यानो कपडा र बासको प्रबन्ध गर्ने निर्णय गरेको छ ।

Published : Sunday, 2023 November 5, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया