कोशी कांग्रेसले पनि पारिश्रमिक दिने, थापाको राजीनामा अस्वीकृत
बिराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलले भूकम्प प्रभावितलाई प्रदेशसभा सदस्यहरूको १५ दिनको पारिश्रमिक दिने निर्णय गरेको छ ।
सोमबार बिराटनगरमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभा सदस्यहरूको १५ दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको कांग्रेस सांसद भूपेन्द्र राईले बताए । कोशीमा कांग्रेसका २९ प्रदेशसभा सदस्य छन् ।
यसैबीच, कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ ।
कांग्रेसले थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएका छन् ।
संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्कन आग्रह गरेका थिए । दलको बैठकपछि थापाले आफू जिम्मेवारीमा फर्किएको बताए । राजनीति ट्याकमा आएका कारण सबै आफ्नो जिम्मेवारीमा फर्कने उनले बताए ।
बैठकले यसअघि राजीनामा दिएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको थियो । उनीहरू पनि जिम्मेवारी फर्कने थापाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया