मंसिरमा लुम्बिनी कांग्रेसको सम्मेलन, अर्थ संकलन गर्ने निर्णय

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन मंसिर १६ र १७ गते बुटवलमा हुने भएको छ ।

कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठकले लुम्बिनी प्रदेशको प्रथम सम्मेलन गर्ने निर्णय गरेको हो । प्रदेशभित्रका १२ जिल्लाको सम्मेलन मंसिर १० गतेभित्र अनिवार्य गर्नुपर्नेछ ।

बुटवलमा प्रदेश सम्मेलनलाई गर्न कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनको संयोजकत्वमा प्रदेश पदाधिकारी, सदस्य, जिल्ला र क्षेत्रीय सभापति एवं भ्रातृ तथा शुभेच्छुक प्रदेश र सल्लाहकार गरी २ सय ५ सदस्यीय प्रदेश सम्मेलन मूल आयोजक समिति गठन गर्ने निर्णय भएको छ ।

समितिमा उप–सभापति भुवनप्रसाद श्रेष्ठको संयोजकत्वमा राजनीतिक प्रतिवेदन लेखन समिति गठन भएको छ । महामन्त्री विक्रम खनालको संयोजकत्वमा सांगठानिक प्रतिवेदन लेखन समिति बनेको छ ।
कोषाध्यक्ष प्रकाश रानाको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन समिति गठन गर्ने निर्णय गरेको लुम्बिनी कांग्रेसले जनाएको छ ।

लुम्बिनी कांग्रेसले जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई सहयोग गर्न ‘भूकम्पपीडित राहत पुन:स्थापना कोष–२०८०’ स्थापना गरेको छ । कोषमा आर्थिक संकलन गरेर भूकम्प प्रभावितका लागि पठाउने निर्णय भएको छ ।

Published : Tuesday, 2023 November 7, 8:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया