काठमाडौंमा जुवा खेलिरहेका तीन ठाउँमा प्रहरी छापा, ठूलो रकमसहित ३९ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका विभिन्न स्थानबाट जुवातास खेल्दाखेल्दै एकै रातमा ३९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं, स्याङ्जा, डडेल्धुरा र अछाममा जुवा खेल्दै गरेको अवस्थामा एकै रातमा ३९ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका–२ ठूलोभर्‍याङस्थित गैरीगाउँ नजिक डेरा गरी बस्ने सिन्धुपाल्चोकको तातोपानी घर भएकी ३७ वर्षीया साङ्गु शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासमेत ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ११ हजार २ सय रूपियाँ र ६ बुकताससहित पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–४ धुम्बाराही पिपलबोटस्थित सुन्दर कार्कीको टहरामा जुवातास खेल्दै गरेको अवस्थामा दोलखाको भीमसेन नगरपालिका–५ घर भई काठमाडौंको काँडाघारी बस्ने ४० वर्षीय किरण थापा समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९२ हजार रुपियाँ, २० हजार रूपियाँको बैंक चेक १ थान र ११ बुक ताससहित पक्राउ गरेको हो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–८ बाहाकोट घर भई सोही नगरपालिका–४ नौडाँडामास्थित भीमबहादुर नेपालीको प्रशन्न होटलमा जुवातास खेलिरहेको अवस्थामा भीमबहादुरसमेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ३ सय रूपियाँ र १ सय ५९ पत्ती ताससहित पक्राउ गरेको हो ।

डडेल्धुराको अमरगढी नगरपालिका–२ भेलस्थित चन्द्र भण्डारीको कुखुरा फारममा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २४ वर्षीय वीरेन्द्र खडायत समेत ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले नगद १३ हजार ३५ रुपियाँ र ३ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–३ कागतोला बस्ने बलबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने विनोद शाहीसमेत ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बिनायकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार १ सय रूपियाँसहित पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 November 8, 1:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया