कपिलवस्तुमा भारतले बनाइदियो विद्यालयको भवन र प्रयोगशाला
तौलिहवा । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु. ३.३२३ करोड आर्थिक सहयोगमा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकास्थित श्री गौतम बुद्ध माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय तथा प्रयोगशाला भवन हस्तान्तरण भएको छ ।
सोमबार नेपालका लागि भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले विद्यालयको भवन जिल्ला समन्वय समिति, कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गतको भारत सरकारको अनुदान सहयोग दुई तल्ले विद्यालय भवन, तीन तल्ले प्रयोगशाला भवनको निर्माणमा र फर्निचर एवम् प्रयोगशाला उपकरण खरिदमा उपयोग गरिएको थियो ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको छ ।
श्रीवास्तवले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताएका छन् ।
उनले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
श्री गौतम बुद्ध माध्यमिक विद्यालय सन् १९७८ मा सामुदायिक शैक्षिक संस्थाको रुपमा स्थापना भएको थियो । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त विद्यालयले शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको छ ।
विद्यालयमा प्ले ग्रुपदेखि प्लस टु लेभलसम्मको पढाई हुन्छ । विद्यालयको विद्यार्थी क्षमता १२०० भन्दा बढी रहेको छ । विद्यालयमाकरिब ५२ प्रतिशत छात्रा रहेका छन् ।
सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् ।
४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये ६० वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् । ५ वटा परियोजना कपिलवस्तुमा छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया