व्यवस्था परिवर्तनको बेला आएको छैन : कांग्रेस नेतृ डा.राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणाले अहिले नै व्यवस्था परिवर्तन गर्ने बेला नआएको बताएकी छिन् ।

मंगलबार नेपालगञ्जमा पत्रकारहरूसँग कुरा गर्दै डा.राणाले राजतन्त्र फर्किने सम्भावना नरहेको बताइन् । उनले राजसंस्था राजालाई सक्रिय राजनीति गर्न मन लागेका कारण अन्त्य भएको बताएकी छिन् ।

उनले भनिन्, ‘राजतन्त्रको विषयमा नेपाली कांग्रेस, नेपाली जनता र राजाका बीचमा एउटा सम्झौता थियो । संवैधानिक राजसंस्था (कन्स्च्युश्नल मोनार्की) । राजाले हस्तक्षेप नगर्ने । राजालाई नेपाली कांग्रेसले बोकेकै हो । स्पेस दिएकै हो ।’

‘जब उहाँ (ज्ञानेन्द्र शाह) एक्टिभ किङ बन्न चाहनुभयो । उहाँले पोलिटिकल ईन्फ्लुएन्स खोज्नुभयो । त्यसपछि राजतन्त्र नेपालबाट हटेको हो’, कांग्रेस नेतृ डा.राणाले भनेकी छिन् ।

उनले भनिन्, ‘राजसंस्था जानुको अर्थ के हो भने ? नेताहरूलाई जेल हाल्ने, डाइरेक्ट माओवादीसँग नेगोशिएट गर्ने । यी सबै काम भएर हटेको हो ।’

‘यत्तिकै राजाको मुख मन नपरेर नेपाली कांग्रेस र जनताले राजालाई हटाएको होइन’, उनले भनिन् ।

‘राजतन्त्र धेरै देशमा छैनन् । एउटा ग्रुपले बोल्योभन्दैमा राजतन्त्र भोलि नै फर्किन्छ भन्ने मलाई लाग्दैन’, उनले भनिन् ।

नेतृ डा.राणाले प्रजातान्त्रिक मूल्य, मान्यता र राजनीतिक संस्कारभित्र रहेर सबैको आलोचना गर्न पाइने बताइन् । उनले मूल्य र मान्यतामा रहेर आलोचना गर्नका लागि नै प्रजातन्त्र ल्याइएको बताएकी छिन् ।

‘प्रजातन्त्रमा बोल्न पाइन्छ । राजतन्त्र भनेको केन्द्रिकृति व्यवस्था हो । एकजना व्यक्तिले देश चलाउन सक्दैन । व्यवस्था नै चेञ्ज गर्ने बेला भएको छैन’, उनले भनिन् ।

नेतृ डा.राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाइँको आन्दोलनलाई व्यक्तिगत भनेर टिप्पणी गरेकी छिन् । उनले भनिन्, ‘बैंकबाट लोन लिएपछि तिर्नुपर्छ ।’

आफ्ना आलोचकहरूप्रति खासै गुनासो नरहेको कांग्रेस नेतृ डा.राणाले बताएकी छिन् । उनले भनिन्, ‘जसले मलाई कमेन्ट गरेको छ त्यसले मलाई नचिनेको छ, नजानेको छ ।’

‘म पब्लिक लाईफमा आएपछि मान्छेलाई भन्न मन लागेको भन्छ । कोही मान्छेहरूको काम भनेकै एकदमै नेगेटिभप्रति ओरिएन्टेड छ । नकारात्मक साेँच भएका उनीहरू मलाई किन मन पराउँदैनन् के हो मलाई थाहा छैन’, डा.राणाले भनेकी छिन् ।

नेतृ डा.राणाले संघीयता आएपछि जनताले आफै निर्णय गरेर काम गर्न पाएको बताएकी छिन् । उनले प्रदेश सरकारले सोँचे अनुसार अधिकार पाउन नसकेको बताइन् ।

अर्को एक कार्यक्रममा सभापति डा.राणाले नसर्ने दीर्घरोगका विषयमा सचेत रहन अनुरोध गरेकी छिन् । उनले समय समयमा अस्पताल पुगेर स्वास्थ्य चेकअप गर्न आग्रह गरिन् ।

Published : Tuesday, 2023 November 28, 11:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया