मोस्ट वान्टेड नेताले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रहरीको खोजी सूची (मोस्ट वान्टेड)मा रहेका खड्गबहादुर विश्वकर्माले भेट गरेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विश्वकर्माले दाहाललाई भेट गरेकाे उच्च स्रोतले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता विश्वकर्माले किन प्रधानमन्त्री दाहाललाई भेट गरेका हुन् केही भनेका छैनन् ।
विश्वकर्माविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको छ ।
दाहाल र विश्वकर्माबीच सरकारसँग भएको सहमति, अदालतबाट जारी पक्राउ पूर्जी लगायत समसामयिक विषयमा छलफल भएको बुझिएको छ ।
जिल्ला अदालत काठमाडौंले विश्वकर्मासहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरूविरुद्ध पूर्जी जारी गरेको छ ।
२०७६ साल असोज ९ गते दायर भएको मुद्दामा चन्द, विश्वकर्मासहितका नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि चन्दसहितका नेताहरू भूमिगत छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले चन्द, विश्वकर्मासहितका पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई पक्राउ गर्न खोजी गरिरहेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया