बागमती कांग्रेसको सम्मेलन तयारीबारे सभापति बानियाँले लिए जानकारी

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले प्रथम प्रदेश सम्मेलनको तयारीका विषयमा छलफल गरेको छ ।

आइतबार काठमाडौंमा बसेको कार्यसमितिको बैठकले सम्मेलनको तयारीका विषयमा भएका गतिविधिबारे छलफल गरेको हो । सभापति ईन्द्रबहादुर बानियाँले सम्मेलनलाई भव्य र सभ्य बनाउन निर्देशन दिएका छन् । उनले सम्मेलनको तयारीका लागि जिम्मेवारी पाएका समिति र उप–समितिहरूको कामकारबाही बारे जानकारी लिएका छन् ।

सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको तयारीका लागि बागमती कांग्रेसले सभापति बानियाँको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।

बागमती कांग्रेसले पुसको ७ गते काठमाडौंको सुकेधारामा रहेको नवदुर्गा पार्टी प्यालेसमा सम्मेलन गर्नेछ ।

सह–महामन्त्री ऋषिराम घिमिरेले कार्यसमितिको बैठकमा सम्मेलनको तयारीको जिम्मेवारी पाएका समिति र उप–समितिका संयोजकहरूले जानकारी गराएको बताए ।

सम्मेलनको तयारीका विषयमा बागमती कांग्रेसले पुस ६ गते नवदुर्गा पार्टी प्यालेस, सुकेधारमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछ ।

उप–सभापति चन्द्र महर्जनले कार्यसमितिको बैठकमा राजनीतिक प्रस्तावका विषयमा जानकारी गराएका छन् । उप–सभापति महर्जनको राजनीतिक प्रस्ताव पारित भएको सह–महामन्त्री घिमिरेले बताएका छन् ।

महामन्त्री कञ्चनचन्द वादेले सांगठनिक प्रस्ताव, महामन्त्री राजु श्रेष्ठले बागमती कांग्रेसको एक वर्षको कार्यक्रमका बारेमा जानकारी गराएका छन् ।

सह–महामन्त्री ऋषिराम घिमिरेको संयोजकत्वमा रहेको सम्मान समितिले १३ जिल्लामा रहेका कांग्रेसका जीवित नेताहरूलाई सम्मान गर्ने विषयमा जानकारी गराएको छ । बागमती कांग्रेसले कांग्रेसमा योगदान गरेका १३ जिल्लाको एक/एक जनालाई सम्मान गर्नेछ ।

सह–महामन्त्री जीवन डंगोलले सम्मेलनमा आउने सदस्यहरूको स्वागतको तयारीका बारेमा जानकारी गराएका छन् ।

सह–महामन्त्री हरिचरण श्रेष्ठले खाना व्यवस्थापनका विषयमा भएको तयारी र कोषाध्यक्ष दीर्घमान श्रेष्ठको संयोजकत्वमा रहेको आर्थिक संकलनका विषयमा जानकारी गराइएको छ ।

Published : Sunday, 2023 December 17, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया