ढाँटेर राजनीति चल्दैन, नयाँ पार्टी विदेशीका एजेन्ट हुन् : तरुण अध्यक्ष गुरुङ

पोखरा । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण दल किसानको मुद्दा बोकेर तराई प्रवेश गर्ने बताएका छन् ।

मंगलबार नेपाली कांग्रेस कास्कीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले किसानहरुको मुद्दा र मागलाई सम्बोधन गर्नुपर्ने बताए । उनले भने, ‘तरुण दल भाषण र सभा सम्मेलनमा मात्र होइन, जनताको भावना नजिक छ । यही उद्देश्य लिएर हामी अब तराई जाँदैछौं ।’

उनले भने, ‘तराईमा हामी किसानको मुद्दा लिएर जाने छौं । तराईमा तरुण दल किसान नै भएर काम गर्नेछ । पहाडमा पनि तरुण दल छुट्टै मुद्दा लिएर छिट्टै जाँदैछ ।’

उनले जाजरकोट र पश्चिम रुकुममा १० दिनसम्म बसेर भूकम्प पीडितलाई अस्थायी टहरामा राखेर आएको बताएका छन् ।

‘नयाँ पार्टी विदेशीका एजेन्ट हुन्, तिनीहरु धेरै टिक्दैनन्’, अध्यक्ष गुरुङले भने, ‘हिजो देशलाई संकट रविन्द्र मिश्र र रवि लामिछानेहरु कहाँ थिए ? त्यसबेला नेपाली कांग्रेसले सामना गरेको थियो । जनताको अधिकारका लागि कांग्रेसको नेतृत्वमा लोकतन्त्र स्थापना गरेको हो ।’

अध्यक्ष गुरुङले भने, ‘जनता अब सचेत भइसके, ढाँटेर राजनीति चल्दैन । नेपाली कांग्रेसका नेता कार्यकर्ताविरुद्ध सामाजिक सञ्जाल उपयोग गरेर गाली गरिरहेका छन् ।’

उनले भने, ‘त्यस्तालाई हामीले बाइकट गर्नुपर्छ । कांग्रेसले गरेको कामलाई प्रचार गरौं, पार्टीका आदर्श पुरुषहरुको वाणीलाई सामाजिक सञ्जालमा सेयर गरौं ।’

उनले नेपाली कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउन कार्यकर्तामा उत्साह देखिएको बताएका छन् । यो उत्साहले केन्द्रदेखि वडातहसम्म एकताबद्ध गरेर लैजाने अध्यक्ष गुरुङले बताएका छन् ।

Published : Tuesday, 2024 January 23, 10:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया