कांग्रेस नेता तथा वरिष्ठ गीतकार थापालाई नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापालाई नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान २०७९ प्रदान गरेका छन् ।

सोमबार शीतलनिवासमा नातिकाजी स्मृति समाजले आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पौडेलले थापालाई सम्मान प्रदान गरेका हुन् । थापा राष्ट्रपतिका सल्लाहकार पनि हुन् ।
समाजले नेता थापालाई वरिष्ठ गीतकारका रुपमा सम्मान गरेको छ । थापाले गीत, कविताहरू लेख्दै आएका छन् ।

राष्ट्रपति पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।

पौडेलले नेपाली सङ्गीतमा विभिन्न जातजातिका बाजा, भाका, गीत, सङ्गीतका आफ्नै परिवेश, मौलिक धुन, विशिष्ट शैली र महत्व रहेको बताए ।

उनले त्यसको जगमा नै नेपाली राष्ट्रिय सङ्गीतको विकास हुँदै आएको बताएका छन् ।

पौडेलले भने, ‘सिर्जना राष्ट्रका सम्पदा, संस्कृति राष्ट्रका पहिचान र कलाकार राष्ट्रका अमूल्य निधि हुन् । कलाकार सिर्जना र संस्कृतिका संवाहक हुन्, कलाकारका साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्नेगर्छ ।’

राष्ट्रपति पौडेलले नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तथा नातिकाजी राष्ट्रिय पुरस्कार, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार प्रदान गरेका छन् ।

Published : Tuesday, 2024 February 6, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया