महालक्ष्मी उपाध्यायको प्रश्न– बिचौलियाले भोटसँग नोट साटेको, भोट हराएको कुरा किन उठेन ?
काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आफ्नै उम्मेदवारको हराएको मतको खोजी गर्न आवश्यक रहेको बताएकी छिन् ।
बिहीबार ललितपुरको गोदावरीमा महासमितिको बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यायले क्रियाशील सदस्यहरूको निर्वाचनमा हराएको मत खोजीको प्रस्ताव नआएको भन्दै असन्तुष्टि जनाइन् ।
उनले भनिन्, ‘विगतको ०७९ को निर्वाचनको समयमा संघीय र प्रदेश निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले रुख हेर्नै पाएन, रुखलाई हेर्नै पाएन, रुखलाई भेट्नै पाएन, रुख देख्नै पाएन भन्ने कुरा पनि यहाँ आएको छ । यो साँच्चिकै तथ्य हो ।’
‘त्यो गुनासो देख्न नपाएको, हेर्न नपाएको, आमपार्टीका साथीहरूको गुनासोको तथ्य वास्तविकता हो’, नेतृ उपाध्यायले भनिन्, ‘संघीय र प्रदेश निर्वाचन क्षेत्रमा हिजो स्थानीय तहको निर्वाचनमा वडादेखि केन्द्रसम्मको निर्वाचन क्षेत्रमा रुख देख्न पाएको, रुखमा भोट हाल्न पाएको तर, भोट नहालेको क्रियाशील सदस्यहरूको भोट हराएको विषय यहाँ किन उठेन ? उठ्नु पर्थ्यो भन्ने मेरो आवाज हो ।’
उनले भनिन्, ‘त्यो विषय आज भोटसँग नोट साटिएको, आज बिचौलियाहरूसँग बिचौलियाहरूले तमाम साथीहरूर्लाइ रुवाएको विषय आज यहाँ किन उठेन ? यो प्रस्तावमा किन आएन ? त्यो विषय र प्रशंग अब उठ्नुपर्छ ।’
‘साँच्चिकै हाम्रो पार्टी एक्लै लड्न सक्ने क्षमता हामीमा छ । यदि हामीले हराएको भोट खोज्न सकेनौँ भने हामीले अर्को परिस्थिति देख्नुपर्छ । त्यो परिस्थिति जन्मिन्छ’, सह–महामन्त्री उपाध्यायले भनेकी छिन् ।
नेतृ उपाध्यायले गठबन्धनको बचाउ गरेकी छिन् । उनले भनिन्, ‘ध्रुबीकरणको ढोका बन्द गर्नु हुँदैन । सम्भावनाका खोज्नुपर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया