प्रदेश सरकारहरू बचाउन कांग्रेसले दियो अधिकार, बुढानिलकण्ठमा बन्यो रणनीति

काठमाडौं । नेपाली कांग्रेसले प्रदेशहरूमा सरकार बचाउने विषयमा प्रदेश कार्यसमितिका सभापतिहरूसँग छलफल गरेको छ ।

मंगलबार साँझ सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा पदाधिकारी र सात प्रदेशका सभापतिहरूको बैठकमा कांग्रेस नेतृत्वको सरकार बचाउने विषयमा छलफल भएको प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् ।

उनले भने, ‘सात प्रदेशका पार्टी सभापतिहरूलाई बोलाएका थियौँ । प्रदेशहरूमा के स्थिति छ ? भन्ने कुरामा हाम्रो छलफल केन्द्रित भयो ।’

‘त्यहाँको वस्तुस्थितिका बारेमा साथीहरूले आफ्ना कुरा राख्नुभयो’, डा.महतले भने, ‘उहाँहरूबाट यथार्थ जानकारी लिने र जहाँ हाम्रो सरकार छ, जहाँ छैन त्यहाँ हाम्रो स्थिति के हुन्छ ? कसरी अगाडि बढ्न सकिन्छ त्यसमा उहाँहरूको सुझाव र सल्लाह सुन्नको लागि बोलाएका थियौं ।’

प्रवक्ता डा.महतले भने, ‘सभापतिहरूले विभिन्न दलहरूसँग कुराकानी गर्ने शिलशिलामा प्रदेश नेतृत्वको भूमिका हुने हो ? केन्द्रको के हुने हो ? स्पष्ट गरिदिएमा कुराकानी गर्न, छलफल अगाडि बढाउन सहज हुन्छ भन्ने सुझाव आयो ।’

एमाले र माओवादी केन्द्रसँग मिलेर प्रदेश सरकारहरू बचाउन कांग्रेसले प्रयास गर्छ ? भन्ने प्रश्नको जवाफमा डा.महतले भने, ‘अहिले त्यस्तो सम्भावना त हामी देख्दैनौं । त्यहाँ संख्याको बनौट कस्तो छ ? कुन कुन पार्टी गठबन्धनमा छ ? त्यसको आधारमा कहाँ हाम्रो सरकार छ त्यसलाई निरन्तरता दिन सक्छौँ, कहाँ समर्थन जुटाउन सक्छौँ त्यसकै विश्लेषण हो ।’

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग मिलेर कम्युनिस्ट गठबन्धन बनाएपछि केन्द्रदेखि प्रदेश सरकारहरूमा त्यसको प्रत्यक्ष असर परेको छ । कांग्रेसले प्रदेश सरकारहरूलाई कसरी बचाउने भनेर पदाधिकारी र सभापतिहरूसँग छलफल गरेको छ ।

Published : Tuesday, 2024 March 12, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया