युवापुस्तामा खेलकुदप्रति अत्यन्तै आकर्षण बढेको छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवापुस्तामा क्रिकेट खेलप्रति निकै रुचि र उत्साह रहेको भन्दै खुसी व्यक्त गरेका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औँ स्थापना दिवसको अवसरमा आयोजित वृहत रक्तदान तथा चियापान कार्यक्रम २०८१ लाई सम्बोधन गर्दै देउवाले युवापुस्तामा खेलकुदप्रति देखिएको आर्षणको प्रशंसा गरे । उनले खेलकुदको विकास र उन्नतिप्रति सहयोग गर्ने समेत जनाएका छन् ।
उनले भने, ‘नेपाल खेलकुदमा अगाडि बढेको देश हो यो । युवापुस्तामा खेलकुदप्रति अत्यन्तै आकर्षण बढेको हुँदा हरेक ठाउँमा क्रिकेटमा त्यहिँ ढङ्गले फ्यानहरू छन् । नेपालमा हामी पनि क्रिकेटलाई मन पराउँछौं ।’
‘देशमा खेलकुदप्रति आकर्षण छ । पार्टीका साथीहरूलाई खेलकुदप्रति आकर्षण गर्न भूमिका खेल्नु हुनेछ’, सभापति देउवाले भने ।
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले कांग्रेसप्रति ठूलो जिम्मेवारी र चुनौति थपिएको बताएका छन् ।
उनले भने, ‘अहिलेको बेलामा हाम्रो पार्टीमा निकै ठूलो चुनौतिहरू छन् । सबै चुनौतिहरूको सामना गर्न एकढिक्का भएर अगाडि बढ्नुपर्दछ ।’
सभापति देउवाले कांग्रेसका कार्यकर्ताहरूलाई खेल क्षेत्रमा क्रियाशील बनाउन संघका अध्यक्ष देवेन्द्र शेरचनलाई निर्देशन दिए । उनले खेलकुदको क्षेत्रमा अध्यक्ष शेरचनले गरेको पहल र प्रयासको प्रशंसा गरेका छन् ।
कार्यक्रममा नेताहरू कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, उपसभापति धनराज गुरुङ, प्रवक्ता डा.प्रकाशशरण महत, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका सांसद जीतजङ्ग बस्नेत, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, राधा घले, लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया