सरकारले संसदीय समिति गठन गरेन भने मंगलबार पनि संसदमा अवरोध, झन् आक्रामक बन्यो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सहकारीको करोडौं रकम अपचलन र ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको छानविन गर्न संसदीय समिति गठनको मागलाई निरन्तरता दिने निर्णय गरेको छ ।

सोमबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरे संसदको अवरोध कायमै रहने निर्णय भएको प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् ।

डा.महतले भने, ‘हामीले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्छ भनेका छौं । यो मागमा पार्टी यथावत् नै छ ।’

‘सरकारले संसदीय छानबिन समिति गठन गरेन भने मंगलबार पनि संसदको अवरोध कायमै रहन्छ’, प्रवक्ता डा.महतले भने ।

‘सरकारले संसदीय समिति गठन गरेन भने बाध्य भएर हामीले राष्ट्रपतिलाई पनि सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्नबाट रोक्ने स्थिति आउँछ’, उनले भने ।

डा.महतले भने, ‘व्यक्तिको कुरा यसरी आयो कि, उहाँ सामान्य व्यक्ति रहनु भएन । उहाँ विशेष व्यक्ति रहनुभयो । उपप्रधानमन्त्री र गृहमन्त्री हुनुहुन्छ । उहाँको प्रभावका कारणले केही पनि भएको छैन भनिरहेको छ । जबकि तथ्य के आइरहेको छभने त्यही निकायले पनि छानविन गरेको त्यही पनि आउन थाल्यो ।’

नीति तथा कार्यक्रम पेस गर्ने क्रममा राष्ट्रपतिलाई कांग्रेसले रोक्छ भन्ने प्रश्नको जवाफमा प्रवक्ता डा.महतले भने, ‘यो राष्ट्रपतिलाई रोक्ने विषयवस्तु होइन । यो सरकारको नियत छ, उहाँहरूको उदाशिनता छ, असंवेदनशीलता छ । यत्रो ठूलो काण्ड भइरहेको छ । लाखौँ जनताहरू सहकारीबाट पीडित छन् । त्यसको पीडित बनाउने कर्ता सरकारकै ठूलो जिम्मेवारीमा हुनुहुन्छ । उहाँहरूले त्यसलाई ढाकछोप गरेर समग्र यो सहकारीमा भएको दुरुपयोग र ठगीलाई नै छोप्न खोज्दै हुनुहुन्छ ।’

कांग्रेसका प्रवक्ता डा.महतले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्नबाट सरकार नै रोक्न लागेको आरोप लगाए । उनले भने, ‘हाम्रो कुरै रहेन । सरकारले नै रोक्न लागेको छ । बजेट पनि सरकार छलफल गराउन चाहेको छैन ।’

कांग्रेसले अघिल्लो संसद अधिवेशनदेखि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेको थियो ।

सत्तापक्ष तयार नहुँदा संसदीय समिति गठन भएको छैन । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ ।

कांग्रेसले थप रणनीति तय गर्न मंगलबार बिहान संसदीय दल कार्यसमिति र संसदीय दल बैठक पनि बोलाएको छ ।

संघीय संसदको संयुक्त बैठकमा मंगलबार अपराह्न सरकारका तर्फबाट नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने तयारी छ ।

Published : Monday, 2024 May 13, 1:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया