ओलीको दास बने घिमिरे, गगन भन्छन्, ‘कांग्रेसले संयमता अपनाउँदा मुठभेड रोकियो’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा अकस्मात पत्रकार सम्मेलन गरेर थापाले एमालेको निर्देशनमा सभामुखले काम गर्दा संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको बताए । उनले सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर उनीहरुको निर्देशनअनुरुप बैठकमा कांग्रेसलाई पेलेर अगाडि बढेको बताए ।

सांसद थापाले संसदमा जबर्जस्ती कार्यसूची प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गरेको बताएका छन् ।

‘प्रमुख प्रतिपक्ष दल वेलमा पुगेको र संसद्भित्रका अन्य सम्पूर्ण प्रतिपक्ष दलहरु उभिइरहेको अवस्थामा सभामुखले त्योभन्दा अगाडि सत्तापक्षको तीनवटा पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर आएर जे–जति कुराहरु सदनभित्र गराउनका निम्ति निर्देशन दिइयो’, थापाले भने ।

‘हुबहु त्यसको पालना गरेको देखियो’, उनले भने, ‘कांग्रेसको अवरोधको बाबजुद पनि सदन अगाडि बढ्छ भन्ने हिजो एमालेको अध्यक्षले त्यसका बारेमा हुंकार गर्नुभएको र त्यसलाई पूरा गर्नका निम्ति सभामुखको पदको जिम्मेवारी पूरा भएको दृश्य आज हामीले सदनमा देख्यौं ।’

महामन्त्री थापाले भने, ‘आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो यसको मूल जिम्मेवारी सभामुखले लिनुपर्छ । किनकि सदनमा जर्बजस्ती विषय कार्यसूचीमा प्रवेश गराएर एक प्रकारको अप्रिय, अनपेक्षित स्थितिको सिर्जना गर्ने कामको मूल जिम्मेवारी सभामुखले लिनुपर्छ ।’

महामन्त्री थापाले सभामुख देवराज घिमिरेले आफ्नो निष्पक्ष भूमिका निर्वाह गर्न चुकेको बताएका छन् । ‘आज सदनमा जे दृश्य देखियो । यो सन्दर्भमा सभामुखले सदनको सभामुखको जिम्मेवारीबाट जुन भूमिका निर्वाह गर्नुपर्ने हो’, उनले भने, ‘त्यो निर्वाह गर्न सर्वथा चुक्नुभएको भन्ने हाम्रो ठहर रहेको छ ।’

Published : Thursday, 2024 May 16, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया