कांग्रेसको अडानपछि सहकारी ठगका आरोपी लामिछानेमाथि अनुसन्धान गर्न समिति बनाउने सहमति

काठमाडौं । नेपाली कांग्रेसको अडान र दवावपछि सरकारले सहकारीको रकम ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारेमा संसदीय छानविन समिति बनाउन तयार भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्डसहित सत्तारूढ दल एमाले, माओवादी केन्द्र, रास्वपा तथा कांग्रेस नेताहरूबीचको बैठकले संसदीय छानबिन समिति बनाउने निर्णय गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम अपचलन र ठगीका विषमया अनुसन्धान गर्न संसदीय छानविन समिति बनाउने सहमति बनेको बताएका छन् ।

उनले भने, ‘कांग्रेसले संसदीय छानबिन समिति गठन हुनुपर्नेमा अडान राखेपछि निकास दिनका लागि तयार भयौं । समिति बन्ने सहमति भयो ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि संसदीय छानबिन समिति बनाउनेबारे दलहरू समान धारणामा पुगेको बताएका छन् ।

लेखकले भने, ‘समितिको कार्यादेश के हुन्छ भन्नेबारेमा फेरि छलफल हुन्छ । गृहमन्त्रीको नाम तोक्ने नतोक्ने भन्नेबारे निर्णय भएको छैन । कार्यादेश बनाउँदा छलफल हुन्छ ।’

तीन दलका शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समितिका लागि कार्यादेश तय गर्न कानूनमन्त्री गिरीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा कांग्रेसबाट सह–महामन्त्री जीवन परियार, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद शिशिर खनाल सदस्य छन् ।

कार्यादेशबारे आइतबारदेखि छलफल हुनेछ । कार्यादेशबारे दलहरूका बीच सहमति बन्यो भने संसदीय छानविन समिति गठन हुनेछ ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी ओली र कानूनमन्त्री गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रहेका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्ले रहेका थिए ।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

सहकारीको करोडौं रकम अपचलन तथा ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे अनुसन्धान गर्न संसदीय छानविन समितिको माग गरेर कांग्रेसले प्रतिनिधिसभाको बैठक अबरुद्ध गर्दै आएको छ । कांग्रेसल अडान राखेपछि समिति बनाउन सरकार तयार भएको छ ।

Published : Saturday, 2024 May 18, 11:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया