सहकारी ठगी काण्डमा मुछिएका लामिछानेद्वारा ‘केपी बा’सँग भेट, आत्तिदै बालकोट पुग

काठमाडौं । सहकारीको झण्डै १ अर्ब रुपियाँ अपचलन र ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेले एमालेका अध्यक्ष केपी ओली (केपी बा)सँग भेट गरेका छन् ।

शुक्रबार साँझ बालकोट पुगेर लामिछानेले ओलीलाई भेट गरेका हुन् । ओली र लामिछानेबीच भेट भए पनि उनीहरूका बीच के विषयमा कुराकानी भएको हो केही भनिएको छैन ।

गृहमन्त्री लामिछानेले केही हाइप्रोफाइल व्यक्तिहरूलाई कारबाही प्रक्रिया अगाडि बढाउन लागेको विषयमा पनि छलफल गरेको हुन सक्ने स्रोतको भनाइ छ । लामिछानेले आफ्ना विरोधीहरूलाई तह लगाउन विभिन्न मुद्दा लगाउने, पक्राउ गर्ने लगायतका गतिविधि गरिरहेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गरेको र बालुवाटारमा ठूला ३ दलबीच सकारात्मक छलफल भएको समाचार आएको केही समयभित्र लामिछानेले ओलीसँग भेट गरेका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेपछि निकै आलोचना खेप्दै आएका लामिछानेले ओलीलाई आत्तिएर भेट गरेका छन् ।

कांग्रेसले संसदीय छानविन समिति बनाउन अडान लिएको छ । कांग्रेसको मागमा ३ ठूला दलबीच सकारात्मक छलफल भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका थिए ।

Published : Friday, 2024 May 24, 11:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया