नेविसंघका संस्थापक सदस्य श्रेष्ठको निधन, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेविसंघका संस्थापक सदस्य बीरेन्द्रभक्त श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले शुक्रबार शोक वक्तव्य जारी गरेर गहिरो दुःख व्यक्त गरेको जनाएका छन् । देउवाले भने, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’
नेविसंघका संस्थापक सदस्य श्रेष्ठको शुक्रबार काठमाडौंमा निधन भएको थियो । श्रेष्ठ नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा भएको सभापति देउवाले शोक वक्तव्यमा उल्लेख गरेका छन् ।
विक्रम संवत् २०१८ देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका स्व.श्रेष्ठ नेपाल विद्यार्थी संघको संस्थापक सदस्य हुन् ।
त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनको पूर्व अध्यक्ष रहेका स्वर्गीय श्रेष्ठ विक्रम संवत् २०४९ मा समाजकल्याण परिषदको उपाध्यक्ष रहेका थिए ।
कांग्रेसको विभिन्न सांगठनिक पदमा रहेका स्व.श्रेष्ठ सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय रहेको कांग्रेसले जनाएको छ ।
विशेष गरी सम्पदा संरक्षणको क्षेत्रमा श्रेष्ठको उल्लेखनीय योगदान रहेको छ । विक्रम संवत् २०७२ को भूकम्पपछि काठमाडौंको काष्ठमण्डप पुनर्निर्माणको लागि श्रेष्ठले अभियान नै चलाएका थिए ।
‘राजनीतिक र सामाजिक रुपान्तरणका पक्षमा दृढ अठोटका साथ उभिने सांस्कृतिक जागरणका श्रेष्ठ अभियन्ता नै हुनुहुन्थ्यो’, कांग्रेसले भनेको छ ।
‘स्व.श्रेष्ठले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा निर्वाह गर्नु भएको सक्रिय भूमिका पार्टीमा सदा स्मरणीय रहनेछ’, शोक वक्तव्यमा उल्लेख छ ।
‘उहाँको निधनबाट नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धालाई गुमाएको छ’, सभापति देउवाले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया