लामिछाने संलग्न संस्थाको संसदीय समितिले कागजपत्र मागेपछि रास्वपाभित्र खैलाबैला
काठमाडौं । संसदको सहकारी छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने तत्कालीन समयमा मालिक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको विवरण माग गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको बैठकले समितिले गोर्खा मिडियाको कागजात माग गर्ने निर्णय गरेको समिति सदस्य बद्री पाण्डेले बताएका छन् ।
समितिले लामिछाने जोडिएको गोर्खा मिडियासहित ९ वटा सहकारीका कागजात माग गरेको छ । समितिले गोर्खा मिडियाको कागजपत्र माग गरेपछि गृहमन्त्री लामिछानेलाई सबैभन्दा धेरै तनाब भएको छ ।
समितिले सहकारी क्षेत्रका जानकार पूर्व मन्त्री दीपकप्रकाश बाँस्कोटा र एमालेका नेता केशवप्रसाद बडालसँग परामर्श गरेको छ ।
संसदीय समितिले समस्याग्रस्त २९ सहकारी संस्थाहरूको छानबिन गरिरहेको छ । सहकारी बोर्ड, सहकारी विभाग, कानून मन्त्रालय, सहकारीमन्त्री, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)सँग पनि छलफल गर्नेछ ।
अनुसूची २ मा रहेका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, आइडियल यमुना बहुउद्देश्यीय संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरूको कागजात झिकाउने निर्णय भएको छ ।
जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । समितिले आफ्नो कामलाई अगाडि बढाउदै कागजपत्र माग गरेपछि रास्वपाभित्र खैलाबैला भएको चर्चा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया