उदयपुरकी ३१ वर्षीया सुन्दरी राई व्यूरोद्वारा पक्राउ

काठमाडौं । विवाहको वहानामा चीन पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१ जोगीदह घर भएकी राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्दार भई नेपाल फर्कीएकी पीडितको उजुरीको आधारमा जाहेरी दिएपछि मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।

राईले पीडितलाई सामाजिक सञ्जाल मेसेञ्जरमार्फत कुराकानी गरी आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीन आएको १० वर्ष भयो भनेर प्रलोभन दिएकी थिइन् ।

‘चीनमा धेरै राम्रो हुन्छ, तिमी पनि विवाह गरेर चीनमा आउ, विवाह गर्ने केटासँग मेरो चिनजान रहेको छ, केटा धनी र राम्रो छ’ भनेर राईले प्रलोभन देखाएको अभियोग लागेको छ ।

पीडितलाई काठमाडौंको ठमेलमा चिनियाँ केटासँग भेट गराई २०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याई १ लाख ५० हजार रूपियाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।

राईलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्यादथप अनुमति लिई घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2024 June 27, 6:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया