नलिन्चोक हेलिप्याड प्रकरणमा विनायक-शैलेन्द्रलाई कारबाहीको माग, उजुरीको तयारी, बसपार्कभन्दा बेहाल अवस्था

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ई.विनायक भट्टराई र क्याप्टन शैलेन्द्र बस्नेतलाई कारबाही गर्नुपर्ने माग उठ्न थालेको छ ।

भक्तपुरको नलिन्चोकमा निर्मित हेलिप्याडका विषयमा सुरक्षाका विषयमा गम्भीर भएर प्रतिवेदन बनाउन नसकेको भनेर असन्तुष्ट हेलिकप्टरका पाइलटहरूले ई.भट्टराई र क्या.बसनेतलाई कारबाहीको माग गरेका हुन् । उनीहरूको प्रतिवेदन र सुझावकै आधारमा प्राधिकरणले नलिन्चोक हेलिप्याड सञ्चालनमा ल्याएको छ ।

परिपत्रअनुसार सबै सुरक्षा पाइलट र हेलिकप्टर कम्पनीले गर्ने हो भने प्राधिकरणको काम के भयो ? हवाइ सुरक्षा सुरक्षित बनाइदिने पहिलो जिम्मेवारी प्राधिकरणको हुन्छ । अनि मात्रै अन्य पक्षको हुन्छ । सुरक्षाका प्राविधिक धेरै विषयलाई ध्याननै नदिएर उनीहरूले हेलिप्याड सञ्चालन गर्न प्रतिवेदनमा दिएपछि विवाद भएको छ ।

ई.भट्टराई सिभिल ईन्जिनियर हुन् । फ्लाई अप्रेशन सम्बन्धित काम र सेफ्टी सम्बन्धी सम्पूर्ण काम फ्लाई सेफ्टी डिपार्टमेन्टले गर्नु पर्दछ । सेफ्टी अप्रेशनको इन्जिनियरले गर्नुपर्ने काम सिभिल ईन्जिनियरलाई गर्न लगाएपछि प्राधिकरणका उच्च तहका धेरै कर्मचारीहरू आश्चर्य चकित बनेका छन् ।

सेफ्टीको चिफ नेपालको एभिएसन सम्बन्धी र फ्लाई ट्राफिक म्यानेजमेन्टमा विशेष दखल भएका मुकुल मिश्र भन्ने व्यक्ति छन् । मिश्रलाई नलिन्चोक हेलिप्याडको प्राविधिक विषयको प्रतिवेदन गर्न नदिएर सिभिल ईन्जिनियरलाई किन जिम्मेवारी दिइयो ? प्रश्न उठेको छ ।

मिश्र र फ्लाई सेफ्टी डिपार्टमेन्टमा भएका पाइलटहरू तथा अन्य प्राविधिकहरूले नलिन्चोक हेलिप्याड सेफ्टीको हिसाबले सुरक्षित नरहेको पाइलटहरू र हवाई विज्ञहरूले टिकाटिप्पणी गरेका छन् । अथवा, हेलिकप्टर उडान र अवतरण गर्ने सुहाउँदाे हेलिप्याड हुन सक्दैन भन्ने पाइलटहरूको भनाइ छ ।

यसै सिलसिलामा नलिन्चोक हेलिप्याड टेस्ट ल्याण्डिङको क्रममा उद्घाटन हुनुभन्दा केही दिन अगाडि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी निकट मानिने पाइलट (क्याप्टन) शैलेन्द्र बस्नेत (माउन्टेन एयर)लाई टेस्ट ल्याण्डिङ गर्न लगाइ फ्लाईट गर्न हुन्छ भन्ने रिपोर्ट पेश गर्न दवाव दिएको आरोप छ । आरोप लगाउनेले त ई.भट्टराई र क्या.बस्नेतको प्रतिवेदन गायब बनाएर अर्को प्रतिवेदन बनाउन दवाव दिएको चर्चा प्राधिकरणभित्र छ ।

उद्घाटन प्रश्चात अन्य एयरलाईन्सका झण्डै ५० जना पाइलटहरूले नलिन्चोक हेलिप्याड कुनै पनि हिसाबले हेलिकप्टर उडान र अवतरण गर्न सुरक्षित हुन्छ भन्ने ठानेका छैनन् ।

पाइलटहरूले नलिन्चोक हेलिप्याडलाई क्यान्सल गर्नको लागि माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालय र प्रधानमन्त्री कार्यालय लगायतमा निवेदन दिँदै छन् । निवेदन दिए पनि केही नहुने ठानेर तथा महानिर्देशक अधिकारीको प्रभावमा परिसकेको बुझेर अब अधिकांश पाइलटहरूले अन्तर्राष्ट्रिय सेफ्टी एजेन्सीहरूलाई गुहार्ने तयारीका साथ निवेदन दिने आन्तरिक गृहकार्य गरेको उच्च स्रोतले जनाएको छ ।

नेपालको बद्नाम र नेपालको फ्लाईट सेफ्टीलाई बेवास्ता गर्दै महानिर्देशक अधिकारीले ठूलो खेलोफड्को गरेको आरोप र चर्चा प्राधिकरणमा छ । नेपालको हवाइ सुरक्षालाई सुरक्षित बनाउन प्राधिकरणलाई विभाजन गरेर सेवा प्रदायक र नियामक निकाय बनाउन युरोपियन यूनियनले सुझाव दिइसकेको छ । तर, महानिर्देशक अधिकारीले प्राधिकरण विभाजन गर्न दिएका छैनन् । संसदमा पनि प्राधिकरण विभाजनको कुरा पटक पटक उठिसकेको छ ।

नलिन्चोकका स्थानीय व्यक्तिहरूको विरोधका बाबजुद महानिर्देशक अधिकारीले हेलिप्याड सञ्चालनमा ल्याएको आरोप छ ।

कुनै बेला डोमेस्टिक विमानस्थललाई बसपार्क जस्तै भयो भनेर पत्रकार सम्मेलन गर्ने महानिर्देशक अधिकारीले अकुत भ्रष्टाचार गरेर नलिन्चोक हेलिप्याड बनाएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा उजुरीहरू परिसकेको प्राधिकरण निकट उच्च स्रोतले जनाएको छ ।

नलिन्चोक हेलिप्याडको हालत बाटोमा पार्किङ गरेका गाडीहरूको जस्तो अवस्था भयो भनेर पाइलटहरूले गुनासो गर्न थालेका छन् ।

नलिन्चोक हेलिप्याडमा टर्मिनल भवन छैन । यात्रुहरू मैदानमा टुक्रुक्क बस्नु पर्ने अवस्था छ । रिफ्युलिङ्गको लागि ईन्धन भण्डार छैन । ग्यालनमा ल्याएर ईन्धन भर्न पर्छ । सुरक्षाकर्मीको स्टेसन छैन । वरिपरी घरहरू, टेलिफोन टावर र हाईटेन्सनका लाईनहरू छन् ।

नलिन्चोक हेलिप्याडको पूर्वतर्फ ट्रान्समिशन लाईन छ, पूर्वतर्फ नै रुख छन् । रुखलाई काट्न सकिएको छैन । नजिकै ३ वटा अग्ला बिल्डिङ छन् । टेलिफोन टावर पनि छ । पश्चिमतिर पनि घर र टेलिफोन टावर छन् । उडान र अवतरण गर्दा ईमर्जेन्सी भएमा खुला ठाउँमा अवतरण पर्छ भनिएको छ । उडान गर्ने बेला ५ मिटरभन्दा तल रहेको हेलिकप्टरमा समस्या आउँदा, ईन्जिन बिग्रियो भने खाली ठाउँमा राख्न भनिएको कुरा परिपत्रमा उल्लेख छ । नलिन्चोक हेलिप्याडमा प्राधिकरण आफैले यस्ता यस्ता कुरा र समस्या छन् भनेर पाइलटले नै सतर्कता अपनाउने भनेर लिखित रुपमा भनेको छ ।

अत्यावश्यक सेवा नहुँदै महानिर्देशक अधिकारीले आर्थिक वर्ष सकिनुअघि हतार–हतार गरेर नलिन्चोक हेलिप्याड उद्घाटन गराएका छन् ।

नलिन्चोक हेलिप्याडमा कुनै पनि बेला ठूलो हवाई वा सुरक्षा दुर्घटना निम्तिन सक्ने पाइलट र हवाइ विज्ञहरूको भनाइ छ । महानिर्देशक अधिकारीको डरले नाम उल्लेख गरेर प्रतिक्रिया दिन कसैले पनि मानेका छैनन् । केही बोल्नेवित्तिकै महानिर्देशक अधिकारीले कारवाही गर्ने भएको हुँदा पाइलट र हेलिकप्टर कम्पनीहरू बोल्न सकेका छैनन् । प्राधिकरणको प्रतिक्रिया लिन प्रयास गर्दा ल्याण्डलाइन फोन उठेन ।

Published : Saturday, 2024 June 29, 7:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया