अमेरिकामा उमेश दाहालको हत्या, विशाल राई पक्राउ

टेनेसीको न्यासभिल । अमेरिकामा २६ वर्षीय विशाल राईले ४१ वर्षीय उमेश दाहाललाई कुटपिट गरेर हत्या गरेका छन् ।

झापाको भुटानीशरणार्थी क्याम्पबाट अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीभाषी दाहाललाई नेपालीभाषी राईले आपसी विवाद हुँदा कुटपिट गरेर हत्या गरेको डेलीमेलले जनाएको छ ।

दुई छोराछोरीका बाबु दाहाललाई टप गल्फको पार्किङमा कुटपिट गरी हत्या गरिएको थियो । विवाद झुट्टाउने क्रममा राईले दाहाललाई भुइँमा टाउको ठोक्किने गरि पच्छारेका थिए । भुइँमा लडेपछि पनि राईले दाहाललाई लात्ताले हानेको स्थानीय प्रहरीले जनाएको छ ।

स्थानीय समयअनुसार शनिबार राति राईसहित दुईजनाले दाहाललाई कुटपिट गरेका थिए । राईको कुटपिटबाट गम्भीर रुपमा घाइते भएका दाहालको उपचारका क्रममा मंगलबार बिहान अस्पतालमा मृत्यु भएको थियो ।

दाहाल टेनेसीको न्यासभिलमा नेपाली समुदायका अन्य सदस्यहरूसँग कन्सर्ट हेर्न पुगेका थिए । पार्किङ नजिकै विवाद हुँदा सो घटना भएको हो ।

घटना हुँदा दर्जनौं मानिसहरू पार्किङस्थल बाहिर आएका थिए । उनीहरूका बीचको विवादलाई छुट्टाउने प्रयास पनि भएको थियो ।

दाहालको टाउकोमा लात हानेर हत्या गर्ने राईलाई सोमबार राति न्यासभिलको एन्टिओकस्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको छ ।

दाहाल गम्भीर घाइते भइ भुइँमा लडिरहेका बेला राईले गम्भीर आक्रमण गरेको प्रहरीले जनाएको छ ।

‘उमेश दाहालको मृत्युको कारणले उक्त अभियोगलाई आपराधिक हत्यामा स्तरोन्नति गरिनेछ’, स्थानीय प्रहरीले भनेको छ ।

दुई छोरीका पिता दाहालले नेपालको झापाकी ४४ वर्षीय दमन्त काफ्ले दाहालसँग विवाह गरेका थिए ।

प्रहरीले अझै पनि दाहालको हत्या र कुटपिटमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्ने प्रयास गरिरहेको छ । अनुसन्धानका क्रममा अन्य व्यक्तिहरू पनि पक्राउ पर्न सक्ने प्रहरीले जनाएको छ । राईलाई अनुमति हिरासतमा राखिएको छ ।

Published : Saturday, 2024 July 6, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया