तनहुँकी नाबालिका अपहरण गरेर पोखरामा सामूहिक करणी, २ जना पक्राउ

पोखरा । अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्की जिल्लामा अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको आइतबार विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा धनुषाको क्षिरेश्वरनाथ गाउँपालिका–१० गोपालपुर घर भई कास्की पोखरा महानगरपालिका–११ रानी पौवा बस्ने २१ वर्षीय अरूणकुमार दास र भारतको बिहार प्रदेश सीतामणि डुमरा थाना सुरसड पक्ष्मी–१ सुरसड गाउँ घर भइ कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवा बस्ने १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार रहेका छन् ।

उनीहरूले असार १७ गते बिहान तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुबाट नाबालिकालाई ललाई फकाई ग.८ प ४२८० नम्बरको मोटरसाइकलमा राखी कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवास्थित उनीहरूको कोठामा बन्धक बनाई सामूहिक रूपमा जबरजस्ती करणी गरी पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा महानगरपालिका–३० पावरहाउसबाट प्रहरीले दुवै जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरू उपर कास्की जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक तथा जबरजस्ती करणी सम्बन्धी मुद्दामा ८ दिन म्याद थप अनुमति लिई घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Sunday, 2024 July 7, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया