मेलम्चीले बेलिब्रिजमा क्षति गर्न थालेपछि बचाउन आए कांग्रेस नेता बस्नेत

मेलम्ची । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको क्षेत्र नं. २ मा अविरल वर्षाबाट भएको क्षतिको स्थानमा स्थलगत अवलोकन गरेका छन् ।

आइतबार नेता बस्नेतले क्षति पुुगेको पुलहरूको अवलोकन गरेर छिटोभन्दा छिटो मर्मत सम्भार गर्न निर्देशन दिँदै आवश्यक सहयोग गर्ने आश्वासन दिएको नेता बस्नेतको स्वकीय सचिव रामेश्वर आचार्यले बताए । आचार्यले भने, ‘पूर्वमन्त्री मोहनबहादुर बस्नेतज्यू सिन्धुपाल्चोक क्षेत्र नं. २ को सांसद र अभिभावक पनि हो । बाढीले पुलमा क्षति पुर्‍याएको जानकारी पाउनेवित्तिकै आएर मर्मत सम्भारका लागि आवश्यक पहल र निर्देशन दिनुभएको छ ।’

हेलम्बु गाउँपालिका, चनौटे बजारस्थित मेलम्ची नदीको बाढीले जोखिममा परेको बेलिब्रिजको स्थलगत अनुगमन गरेका छन् । बेलिब्रिजलाई बचाउन नेता बस्नेतले पहल थालेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालले पुललाई कटान हुन नदिन र आवतजावत बनाइ राख्न मर्मत सम्भार शुरु गरेको छ ।

हेलम्बु गाउँपालिका चनौटेस्थित मेलम्ची, हेलम्बु र पाँच पोखरीको लाईफलाईनको रुपमा रहेको रातो पुल जोखिममा परेका छन् ।

सो क्षेत्रका सांसद समेत रहेका कांग्रेस नेता बस्नेतले बाढीले क्षति गरेको स्थानमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि, सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख लगायतलाई क्षति भएको स्थानमा बोलाएर मर्मत सम्भारमा सुरक्षा निकायहरूलाई सहयोग गर्न निर्देशन दिएका छन् ।

Published : Sunday, 2024 July 7, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया