काउन्सिलले डण्डा हानेपछि थुरुरु डराएको कान्तिपुरले विवादित दृष्य हटायाे

काठमाडौं । दुई अभिनेत्रीलाई मुछेर कान्तिपुर टिभिले देखाएको कार्यक्रमका विवादित क्लिप प्रेस काउन्सिल नेपालको निर्देशनपछि हटाइएको छ ।

‘इट्स माइ सो’मा दुई साताअघि प्रसारित सामग्री विवादमा तानिएको थियो । ती सामग्री आपत्तिजनक र तथ्यहीन भन्दै अभिनेत्री जसिता गुरुङसहितले चर्को विरोध गरेका थिए ।

प्रेस काउन्सिल नेपालले कार्यक्रम सार्वजनिक भएलगत्तै स्वअनुगमन गरेर त्यसबारे प्रष्ट पार्न २४ घण्टे पुर्जी काटेको थियो । टिभीले दिएको लिखित जवाफ चित्त नबुझेर काउन्सिलले प्रस्तोता ओसिन सिटौलासहितलाई लगत्तै बयानका लागि कार्यालयमै बोलाएको थियो ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको उपस्थितिमा टिभिको टोलीले नै त्यस्ता प्रसंग आएकोमा माफी मागेको थियो । प्रेस काउन्सिलले त्यस्ता विवादास्पद सामग्री तत्काल हटाउन र त्यसको जानकारी युट्युव च्यानलसहित माध्यममा गराउन लिखित निर्देशन दिएको थियो ।

टिभिले विभिन्न कलाकारको नाम एकअर्कालाई जोडेर प्रसारित आपत्तिजनक अभिव्यक्ति हटाएको छ । प्रेस काउन्सिल समक्ष प्रस्तोता सिटौलाले व्यक्तिगत लाञ्छना लगाउने, आचारसंहिता विपरित हुने गरी आफूले कुनै काम नगर्ने प्रतिवद्धता जनाएकी थिइन् ।

यो प्रकरण काउन्सिलमा विचाराधीन रहेकाले थप कारवाही के हुन्छ भन्ने खुलेको छैन । प्रेस काउन्सिलले पछिल्लो समय विभिन्न मिडियामा आएका आचारसंहिता विपरितका सामग्री, हुबहु कपी गरी दिएका सामग्री र बार्गेनिङ्ग गरेका मुद्दामा सक्रियता देखाइरहेको छ ।

यसअघि सिधाकुरा, नेपालआज, दैनिकी, फरकधारसहित ३ दर्जन सञ्चारमाध्यमलाई काउन्सिलले कडा कारवाही गरिसकेको छ ।

Published : Monday, 2024 July 8, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया