बाढी, पहिरोपीडितलाई छिटो राहत वितरण गर्न कांग्रेस सांसद चौधरीको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले बाढी र पहिरोका कारण देशभरिका जनताले सास्ती पाइरहेको भन्दै सरकारले उद्धार र राहत वितरण के कति गरेको छ ? त्यसबारे जवाफ माग गरेकी छिन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले बाढी र पहिरोमा परेका पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरेकी छिन् । उनले राहतको कुरा कागजमा मात्रै सीमित छ की ? पीडितले पनि पाएका छन् ? भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरेर प्रश्न गरेकी छिन् ।

उनले भनिन्, ‘देश अहिले अविरल वर्षाले गर्दा थप ठप्प भएको छ । बाढी, पहिरोले गर्दा ७४ जनाले ज्यान गुमाउनु परेको छ । ८६ जाना घाइते हुनु भएको छ ।’

‘अविरल वर्षाले गर्दा पहाडमा पहिरोले नोक्सानी गरेको छ । तराईमा बाढीले क्षति गरेको छ’, सांसद चौधरीले भनिन् ।

उनले भनिन्, ‘सरकारलाई आग्रह गर्न चाहन्छु की कागजमा बनाएर उहाँले राहत राख्नु भएको छ । ठाउँमा त्यो कहिले पुग्ने हो ? त्यसको जवाफ सरकार, गृहमन्त्रीले सदनमा आएर दिनुपर्छ भन्ने मेरो माग छ ।’

‘वर्षात र पहिरोले गर्दा, बाढीले गर्दा खास गरी महिला, बालबालिका र दलित समुदाय प्रभावित भएको छ । उहाँहरूलाई मल्हमपट्टी लगाउन एकजुट हुनु पर्‍यो । खास गरी सरकारी निकायबाट पीडितलाई मल्हमपट्टी लगाउनु प¥यो । बाढी र पहिरोपीडितलाई राहत दिनुपर्छ’, सांसद चौधरीले भनेकी छिन् ।

Published : Tuesday, 2024 July 9, 1:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया