मंगलबारसम्म ८० जनाले ज्यान गुमाए

काठमाडौं । नेपाल प्रहरीले अविरल वर्षाका कारण विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको जनाएको छ ।

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८० जनाको मृत्यु भएको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २३ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ८ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा ९७ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । १ सय ३८ वटा घर, ५४ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३ सय ८४ वटा पशु चौपायको मृत्यु भएको छ ।

उक्त अवधिमा विपद्का घटनाबाट २ हजार ७ सय ६४ घर परिवार विस्थापित भएका छन् ।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।

Published : Tuesday, 2024 July 9, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया