दुईतिहाई पाउँदा र लेखेर दिँदा पनि सरकार चलाउन नसक्नेहरू दोषी छन् : मेटमणि चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले दुईतिहाईको बहुमत हुँदा र सहयात्री दलहरूले लेखेर दिँदा पनि सरकार चलाउन नसक्नेहरूका कारण मुलुक संकटमा परेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक चौधरीले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम उल्लेख नगरेर राजनीतिक अस्थिरताको जड भएको आरोप लगाए । उनले ०४६ सालयता अन्य दलबाट प्रधानमन्त्री बनेकाहरू पनि दोषी रहेको बताए ।

उनले भने, ‘यतीबेला सबैले बोलिने एउटा बाक्य छ । देश बनेन । त्यसको कारणले, उसको कारणले, फलाना राजनीतिक दलको कारणले विकास नभएको कुरा यस्तै शब्द, वाक्य र प्याराग्राफहरू चियागफ बनिरहेको छ ।’

‘सानो स्वरमा नेपालको संविधानलाई पनि दोषी ठहर गर्न थालिएको छ । के सत्य यहि हो त ? होइन’, चौधरीले भने ।

‘२०४६ सालदेखि अहिलेसम्म ३५ वर्षको अवधिमा जोजसले नेतृत्व गर्नुभयो, उहाँहरू सबै दोषी हुनुहुन्छ । अझ भन्ने हो भने पटक पटक, धेरै पटक पटक प्रधानमन्त्री बन्नुभएको सबैभन्दा धेरै दोषी हुनुहुन्छ’, चौधरीले भने ।

‘दुईतिहाईको वरिपरीको सरकार पनि चलाउन पनि नसक्ने, सहयात्री दलहरू सहयोग गर्दा पनि समीकरण फेरिरहने । १८ महिनामा ५ पटक (२८ गतेलाई आधार मान्ने हो भने) सम्म विश्वासको मत लिनुपर्ने अवस्थाको सिर्जनाको मूल कारक नेतृत्व नै हो’, सांसद चौधरीले भने ।

‘संघमा हुने गरेको सहयात्री दलहरूको फेरबदलको कारण सात वटै प्रदेशमा पनि फेरबदल हुन थाल्छ । सरकार बनाउने, सरकार ढाल्ने, विश्वासको मत दिने विपक्षमा मतदान गर्ने, संघमा मन्त्रीहरू फेर्ने, प्रदेशमा मुख्यमन्त्री फेर्ने यो बाहेक अरु केही पनि हुन सकेको छैन’, उनले भने ।

‘यसको कारण अरु कोही नभएर चरम प्रधानमन्त्रीको कुर्सी मोह नै हो’, उनले भने, ‘नेतृत्वले गर्ने र हामीले सुन्ने गरेको एउटा वाक्य छ, तिमी, तपाईले यदि भन्ने, उहाँले १० महिना, त्यसपछि फलाना र चुनाव तपाईले गराउनुस् । अन्तिममा सबैले मीठो मुस्कानसहित चिया, कफी खाएर विदाइको हात हल्लाउँदै घर जानु हुन्छ । यो बाहेक अरु केही सुन्नुभएको छ ? अहँ मत सुनेको छैन ।’

चौधरीले भने, ‘नेपालको जीडीपी बढाउने विषयमा नेतृत्वको छलफल भएको सुन्नुभएको छ ? तपाई, हाम्रो प्रतिव्यक्ति ईन्कमको कुरामा गम्भीर भएको देख्नुभएको छ ? रोजगारी बढाउने, बेरोजगारी र गरिवी घटाउने विषयमा छलफल भएको समाचार कुनै पेपरमा देख्नुभएको छ ?’

‘बैंकमा लेनदेन योग्य रकम ८ खर्ब छ । वैदेशिक सञ्चितीको रकम करीव १८ खर्ब छ । यसको उपयोगको विषयमा अन्तरक्रिया गराएको कहिँ थाहा छैन’, उनले भने ।

‘भ्रष्टाचारको विषयमा पनि तै चुप, मै चुपको अवस्था छ । आफ्नो फाइल खुल्ने डरले अरुलाई पनि जोगाइ राख्ने अवस्था छ । यी सबै कसको कारणले भएको छ ? शीर्ष भनिएको नेतृत्वको कारणले नै हो । भनेपछि यही गोल चक्करमा फसेर बर्बाद बनाउने या मुलुक निर्माणको लागि नयाँ तरिकाले सोँच्ने ?’, चौधरीले प्रश्न गर्दै भने ।

उनले भने, ‘एकहप्तादेखि आएको अविरल वर्षाको कारण दाङ लगायत देशभरिमा ७७ जनाले ज्यान गुमाएका छन् । ८० भन्दा धेरै घाइते । ५ जना बेपत्ता र २० हजार वरिपरी विस्थापित हुनुभएको छ । ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जलि । घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । वेपत्ताहरूको खोजकार्य र विस्थपितहरूको लागि उचित व्यवस्थापनको लागि सरकारसँग अनुरोध गर्दछु ।’

Published : Tuesday, 2024 July 9, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया