स्पेन १२ वर्षपछि ठूलो प्रतियोगितको फाइनमा प्रवेश

लण्डन । युरो २०२४ कप फुटबलमा स्पेनले फ्रान्सलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

म्युनिकमा मंगलबार राति भएको प्रतिस्पर्धामा स्पेनसँग फ्रान्स पराजित भएको हो । स्पेन कुनै ठूलो प्रतियोगिताको फाइनल पुगेको १२ वर्षयता पहिलो पटक हो ।

स्पेनका लागि लामिन यामल प्रतियोगिताको इतिहासमा गोल गर्ने सर्वाधिक कान्छा खेलाडी बने । उनी १६ वर्षका मात्र रहेका छन् । स्पेनले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर खेल जितेको हो ।

फ्रान्सले रान्डल कोलो मोनीको हेडबाट नवौं मिनेटमा गरेको गोलको मदतले अग्रता लिएको थियो । त्यसका लागि केयलिन एमबापेले पास उपलब्ध गराएका थिए । त्यसपछि स्पेनले चार मिनेटको अन्तरमा दुई गोल गरेको थियो ।

आइतबार हुने फाइनलमा १७ वर्षका हुने यामलले २१ औं मिनेटमा उत्कृष्ट गोलको मदतले खेल बराबरीमा ल्याए । स्पेनले २५ औं मिनेटमा अग्रता लिएको थियो । यो भने डानी ओल्मोको नाममा रह्यो ।

उनको प्रहार जुलेस कोन्डेसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । तीन पल्टको च्याम्पियन स्पेन युरो इतिहासमै लगातार ६ खेल जित्ने पहिलो टिम बनेको छ । अब चौथो उपाधिबाट एकै खेल मात्र टाढा रहेको छ । एजेन्सी

Published : Wednesday, 2024 July 10, 9:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया