गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा खेलाडीहरूलाई सम्मान र पुरस्कार प्रदान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले ३ वटा राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरूलाई पुरस्कृत प्रदान गरेका छन् ।

शनिबार पोखरामा प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको कार्यक्रममा पदक विजेता खेलाडीहरूलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो ।

बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका विजेता १ सय ७८ जना खेलाडीहरूलाई पुरस्कृत गरिएको छ ।

खेलाडीहरूलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक पाण्डेका साथै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापा, प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ, मन्त्रालयका सचिव प्रकाश पौडेल, सदस्य सचिव श्रीधर शर्मालगायतले पुरस्कृत तथा प्रशसापत्रले सम्मान गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले खेलाडीहरूलाई बधाईसँगै शुभकामना व्यक्त गरेका छन् । उनले प्रदेश सरकार खेलकुद विकासका लागि लगानी बढाउन प्रतिवद्ध रहेको जनाएका छन् ।

सीमित स्रोतको अधिकतम सदुपयोग गर्दै खेलकुदको जग बलियो बनाउन गण्डकी प्रदेश सरकार अघि बढेको मुख्यमन्त्री पाण्डेले बताए । उनले भने, ‘गण्डकी प्रदेश सरकार खेलकुदमा अधिकतम लगानी गर्दै खेलाडीहरूको जीवन सुनिश्चित गर्न प्रयासरत छ ।’

गाउँबाट नै युवा खेलाडी उत्पादन हुने मूल थलो भएकोले त्यसतर्फ पनि आफ्ना योजनाहरू अघि बढाउने मुख्यमन्त्री पाण्डेले बताएका छन् ।

प्रदेश सरकारले मुस्ताङमा हाइ अल्टिच्यूड खेल मैदानको निर्माण कार्य अघि बढाएको जनाउँदै विभिन्न कल्याणकारी योजनामार्फत सरकार सदैव खेलाडीहरूसंगै रहेको सन्देश पनि दिन चाहेको बताएका छन् ।

पुरस्कृत हुने खेलाडीहरूमध्ये व्यक्तिगत इभेन्टतर्फ स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमशः रू.७, ५ र ३ हजार तथा टिम गेम्सतर्फकालाई क्रमशः नगद रू. ५, ३ र २ हजारका दरले पुरस्कृत गरिएको थियो ।

Published : Saturday, 2024 July 13, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया