गृहमन्त्री लेखकद्वारा पदभार ग्रहण, त्रिशूलमा बस खसेको बारे छानविन गर्न समिति गठन

काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गरेका छन् ।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा लेखकले पदभार ग्रहण गरेका हुन् । उनले शान्तिसुरक्षा व्यवस्थापन र अपराध रोकथाम तथा नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता रहने बताएका छन् ।

यसअघि लेखकले राष्ट्रपति भवन शीतल निवासमा गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका थिए । लेखकले कानूनको शासन कायम आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

लेखकले पहिलो निर्णय त्रिशूली नदीमा २ वटा यात्रुबाहक बस खसेर बेपत्ता भएको घटनाको छानविन गर्न सहसचिव छवि रिजालको संयोजकत्वमा समिति गठन गरेका छन् ।

समितिको सदस्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र सडक विभागका प्रतिनिधि रहेका छन् ।

‘अहिले प्राकृतिक प्रकोपले विषम परिस्थिति उत्पन्न गरेको छ, यसलाई सम्बोधन गर्ने हाम्रो पहिलो दायित्व हो’, लेखकले भने, ‘विधिको शासन स्थापना गर्ने, देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणको काममा दत्तचित्त भएर लाग्ने यो मन्त्रालयको काम रहने छ ।’

लेखकले भने, ‘संविधानको समीक्षा र मूल्यांकन गर्ने, मुल्यांकन के प्रयोजनका लागि गर्नेभन्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समावेशिता संविधानका मूल तत्व छन्, त्यसलाई सुदृढ गर्नका लागि बलियो बनाउनेलगायत काम सरकारका प्राथमिकतामा छन् ।’

सहकारी ठगी प्रकरणमा अब निवर्तमान गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेमाथि हुने अनुसन्धान कसरी अघि बढ्छ भन्ने विषय सरकारको आगामी कार्यशैलीले देखाउनेछ । लामिछानेका कारण अबरुद्ध भएको सहकारी ठगी छानविनको अनुसन्धानलाई गृहमन्त्री लेखकले अगाडि बढाउने छन् भन्ने आशा पीडितहरूले लिएका छन् ।

Published : Monday, 2024 July 15, 11:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया