रुकुममा बाढीपहिरोले बगाएर ३ जनाको मृत्यु, घर र टहरा बगायो

घोराही । रुकुम (पश्चिम) जिल्लामा बाढीपहिरोले बगाएर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाको कारण आठबिसकोट नगरपालिका–१२ झिनचौरस्थित गिजाखोलामा आएको बाढीपहिरोले बगाएर सोमबार राति ३ जनाको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने रूद्र पुनकी छोरीहरू १० वर्षीया हितमाया पुन, ८ वर्षीया धनिसा पुन र सोही नगरपालिका–१० घर भई मामाघर आएकी ४ वर्षीया मनीषा सार्की रहेका जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बाढीपहिरोले २ वटा घर र १ वटा टहरा बगाई ३ जनाको मृत्यु भएको, ७ जना घाइते र १ जना बेपत्ता भएको थियो ।

बाढीपहिरोले क्षति गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको प्रहरीले ७ जना घाइतेहरूलाई उद्दार गरी उपचारको लागि नगर अस्पताल आठबिसकोट पठाई उपचार भइरहेको छ ।

बाढीपहिरो आएको स्थानमा तत्काल खटिएको प्रहरीले बेपत्ताको खोजी कार्य गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Published : Tuesday, 2024 July 16, 1:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया