कक्षा १२ को नतिजा आउँदै, कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी शुरु गरेको छ ।

बोर्डले साउन तेस्रो सातासम्म कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजा प्रकाशित गर्ने तयारी भइरहेको बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले बताएका छन् ।

देशभरिबाट उत्तरपुस्तिका परीक्षण भएर आइसकेको छ । त्यसलाई रुजु र इन्ट्री गर्दै नतिजा तयार पार्ने काम भइरहेको छ ।

वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए ।

७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् ।

असारमा प्रकाशित एसइईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन् ।

Published : Tuesday, 2024 July 16, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया