ओली नेतृत्वको कांग्रेस-एमाले सरकारलाई सफल बनाउने तरुण अध्यक्ष गुरुङको प्रतिवद्धता

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले केपी ओली नेतृत्वको सरकारलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतका दलहरूको गठवन्धनमा संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री बनेका एमालेका अध्यक्ष ओली र उनको नेतृत्वमा बनेका मन्त्रीहरूलाई तरुण दलले बधाई दिएको हो । अध्यक्ष गुरुङले सोमबार विज्ञप्ति जारी गरेर सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष गुरुङले ओली नेतृत्वको संयुक्त सरकारका मन्त्रीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

उनले भने, ‘लोकतन्त्रका लागि स्थापना भई लोकतन्त्रकै खातिर करिब नौ दशकदेखि निरन्तर नेपाली जनताको स्वतन्त्रता र सम्वृद्धिका लागि संघर्षरत नेपाली काँग्रेस वर्तमानको यस विषम कालखण्डमा गठबन्धन सरकारको प्रमुख दलका रुपमा सहभागी हुनुले नेपाली जनताले चाहे अनुसारको राजनीतिक स्थायित्व र आर्थिक सम्वृद्धिको उत्कट चाहनाका परिदृश्यहरू देखिने छन् भन्नेमा नेपाल तरुण दल विश्वस्त छ ।’

अध्यक्ष गुरुङले भने, ‘राजनीतिको लामो यात्रामा निक्कै चुनौतीहरू पार गर्दै आजको विज्ञान र प्रविधिको उच्चतम विकासको युगमा गठन भएको यस सरकारले विकास र सम्बृद्धिका धरोहर तरुण युवाहरुलाई स्वदेशकै लोकतन्त्रको शीतल छहारीमा बसेर सुखी र सम्पन्न नागरिक बन्ने वातावरण तयार गर्न युगान्तकारी र ऐतिहासिक योजनाहरू अगाडि ल्याउन सकोस् ।’

नवगठित सरकारलाई हरतरहले साथ र सहयोगको निम्ति तरुण दल तयार रहेको अध्यक्ष गुरुङले प्रतिवद्धता जनाएका छन् ।

Published : Tuesday, 2024 July 16, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया