गृहमन्त्री लेखकलाई मुख्यालयमा भव्य स्वागत, लामिछाने-श्रेष्ठले फुटबल बनाएको प्रहरी उत्साहित बन्यो

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण भ्रमण गरेका छन् ।

बुधबार नक्सालस्थित प्रहरी हेडक्वाटरमा लेखकले अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरेका छन् । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिएका छन् ।

गृहमन्त्री लेखकले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गरेका छन् । उनले कानूनी व्यवस्था कायम गर्न, शान्ति सुरक्षा तथा अपराध अनुसन्धान एवम् नियन्त्रण गरी मुलुक वा समाजलाई न्याय दिने र सशस्त्र द्वन्द्वको क्रममा जीवनको पर्वाह नगरी निर्भिकतापूर्वक आफ्नो कर्तव्य पालना गर्ने सवालमा नेपाल प्रहरीले उत्कृष्ट कार्य गरेको बताए ।

गृहमन्त्री लेखकले नेपाल प्रहरीको इतिहास गर्व गर्न लायक रहेको उल्लेख गर्दै सीमित साधन स्रोतका वावजुद पनि शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान एवम् विपदको समयमा उद्दार गर्न, जोखिमबाट बचाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताए ।

लोकतन्त्रको आधारभूत मान्यता विधिको शासनलाई लागू गर्नु नेपाल प्रहरीको पहिलो काम रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, ‘तपाईहरूले गर्नुभएको काम जनताले अनुभूति गर्ने विषयसँग जोडिन्छ । त्यसतर्फ यथेष्ट ध्यान रहनेछ भन्ने आग्रह गर्न चाहन्छु ।’

उनले भने, ‘निष्पक्षता, पारदर्शिता र व्यावसायिकतामा कुनै हालतले कमि हुनु भएन र यससँग सम्झौता हुन सक्दैन ।’

प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताउँदै लेखकले यसका लागि जे जति प्रेरणादायी काम गर्नुपर्छ मन्त्रालय सदैव प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।

गृहमन्त्री लेखकले मानिसलाई कुनै पनि विपद् वा समस्या परेको बेला सबैभन्दा पहिला प्रहरीकोमा पुग्ने गरेको पीडामा भएका व्यक्तिहरूको समस्या सम्बोधनका लागि प्रहरी थप सक्रिय हुन निर्देशन दिए ।

प्रहरी संगठनलाई थप व्यवस्थित, क्रियाशील र सुदृढ बनाउनका लागि प्रहरीसँग सम्बन्धित ऐनको समसामयिक संशोधन र परिमार्जनलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्ने गृहमन्त्री लेखकले बताए ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले गृहमन्त्री एवम् गृहसचिबबाट व्यक्त भएको सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि संगठन पूर्ण प्रतिबद्ध रहेको बताए ।

समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराधको नियन्त्रण तथा अनुसन्धान र जनधनको सुरक्षा गर्ने मूलभूत दायित्व वहन गर्ने जिम्मेवारीलाई विषम परिस्थितिहरूमा समेत संगठनका सदस्यहरूले सफलतापूर्वक निर्वाह गर्दै आएको कुँवरले बताए ।

आगामी दिनहरूमा उत्पन्न हुन सक्ने चुनौतिपूर्ण र असहज परिस्थितिहरूको सामना गर्न र आम नागरिकलाई शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिवद्ध रहेको आइजीपी कुँवरले उल्लेख गरेका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले नवीनतम चुनौतिका रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, मानवबेचबिखन, साइबर एवं विद्युतीय कसूर, अवैध हातहतियार ओसारपसार, बहुमूल्य सामग्रीहरूको ओसारपसार, आर्थिक अपराधलाई निर्ममतापूर्वक कानूनी दायरामा ल्याउन नेपाल प्रहरी कटिवद्ध रहेको बताए ।

अपराधका नयाँ प्रवृत्तिहरूको पहिचान गर्दै तिनलाई निस्तेज गर्न नेपाल प्रहरीले आफ्नो क्षमता विस्तारका साथै अन्तर्राष्ट्रिय प्रहरी निकायहरू सँगको समन्वयलाई पनि प्राथमिकतामा राखेर कार्य गर्दै आएको आइजीपी कुँवरले बताए ।

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लेखक समक्ष नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी मनोबल, उत्प्रेरणा र सुपरिवेक्षण, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धि, भावी योजना, चुनौति, अपेक्षा र प्रहरी समायोजन लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गरेका थिए ।

निवर्तमान गृहमन्त्री रवि लामिछानेले र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीले आफ्नो स्वार्थअनुसार गलत उदेश्यका लागि परिचालन हुन दवाव दिएको थियो । लामिछाने र श्रेष्ठका कारण आजित बनेको प्रहरी संगठनले अनुभवी गृहमन्त्री लेखकलाई पाएपछि उत्साहित बनेको छ ।

एआइजी श्यामलाल ज्ञवालीको उक्साहटमा लामिछाने र श्रेष्ठले प्रहरीभित्र निकै चलखेल गर्नुका साथै आइजीपी कुँवरलाई फाल्नेसम्मका अबैधानिक हर्कत गरेका थिए ।

Published : Wednesday, 2024 July 17, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया