प्रधानमन्त्री ओलीद्वारा गायक भुपु पाण्डेलाई छिन्नलता युवा गायक पुरस्कार प्रदान

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले छिन्नलता पुरस्कार २०८० बाट युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गरेका छन् ।

बुधबार काठमाडौंमा गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले गायक पाण्डेलाई नगदसहित सम्मान र पुरस्कार प्रदान गरेका छन् । प्रधानमन्त्री ओलीले २०७९ र २०८० सालका पुरस्कार प्रदान गरेका हुन् ।

नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गरिएको छ ।

प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गरेका छन् ।

ओलीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङलाई पुरस्कार प्रदान गरेका छन् ।

छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशी जनही एक लाखको छ । युवा पुरस्कार ५० हजारको रहेको छ ।

Published : Thursday, 2024 July 18, 8:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया