कांग्रेसद्वारा व्यवसायी अम्बिका श्रेष्ठको निधनप्रति गहिरो शोक व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले पर्यटन व्यवसायी तथा द्वारिकाज होटल एवं रिसोर्टकी संचालक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयबाट जारी भएको विज्ञप्तिअनुसार ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा साउन ३ गते बिहीबारका दिन श्रेष्ठको निधन भएकोमा कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।

स्व.श्रेष्ठ हिमाल मिडिया प्रा.लि.को संस्थापक अध्यक्ष तथा स्पेनका लागि पूर्व अवैतनिक महावाणिज्यदूत समेत हुन् ।

साढे ६ दशकदेखि नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा अनवरत रुपमा संलग्न रहेर यस क्षेत्रको श्रीवृद्धिमा श्रेष्ठले उल्लेखनीय योगदान पु¥याएको कांग्रेसले स्मरण गरेको छ ।

पर्यटन क्षेत्रका साथै महिला उद्यमशीलता प्रवर्द्धन र महिला सशक्तीकरणमा स्वर्गीय श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

‘उहाँ सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो’, शोक वक्तव्यमा भनिएको छ, ‘उहाँको निधनबाट यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ ।’

कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

स्व.श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै सभापति देउवाले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

देउवाले दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

Published : Friday, 2024 July 19, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया