बागमतीमा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार ललितपुरमा बसेको बागमती कांग्रेसको प्रदेश समिति बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको हो । साउन ६ गते प्रदेश सभामा लिन लागेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय कांग्रेसले गरेको छ ।

प्रदेश समिति सभापति ईन्द्रबहादुर बानियाँले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने बताए । बैठकमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको समेत उपस्थिति रहेको थियो ।

बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा एमालेसहितको सरकार बनाउने कांग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धनले यसअघि नै निर्णय गरिसकेको छ ।

अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेसँगै प्रदेशमा मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका हुन् ।

Published : Friday, 2024 July 19, 11:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया