मावन तस्करको अभियोग लागेकी उपसभामुख रानालाई बचाउ मनीष झाद्वारा कु-तर्क पेस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मानव तस्करीको अभियोग लागेकी सांसद समेत रहेकी उपसभामुख ईन्दिरा राना मगरको बचाउ गरेको छ ।

आइतबार बिहानै विज्ञप्ति जारी गरेर रास्वपाका प्रवक्ता मनीष झाले रानाको बचाउ गरेका हुन् । झाले रानाको उपसभामुख पद फुत्किने अवस्था देखेपछि पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइरहेको भनेर विषयलाई मोड्न खोजेका छन् ।

विवादमा परेकी रानाले संवैधानिक पदमा बसी रहनु सुहाउँदैन । मानव तस्करीको अभियोग सामान्य विषय होइन । उनले लेनदेन गरेकी छिन् वा छैनिन् अर्को विषय भयो । तर, उपसभामुख जस्तो उच्च ओहदामा बसेर अमेरिकामा मान्छे पठाउन पत्र लेख्ने कार्य अमर्यादित र पदीय आचरण विपरित छ ।

उपसभामुख रानाले आफूसहित ६ जनालाई अमेरिकाको भिषाका लागि समय मिलाउन आफ्नो सरकारी लेटरप्याड दुरुपयोग गरेकी थिइन् । रास्वपाकी राना मात्रै होइनन् सभापति रवि लामिछाने नै काण्डैकाण्डमा मुछिएका छन् । लामिछानेकै दोहोरो नागरिकता, दोहोरो राहदान, सहकारीको करोडौं रकम ठगी लगायतका काण्ड छन् ।

पछिल्लो समय स्वर्णिम वाग्लेकै देशद्रोही जस्तो अपराधको काण्ड बाहिर आएको छ । निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठविरुद्ध पनि विदेशी पिआर रहेको भनेर उजुरी परेको छ ।

‘जो चोर उसैको ठूलो स्वर’ भने जस्तो रास्वपाले रानालाई उपसभामुख पदबाट राजीनामा गर्न लगाउनु पर्नेमा बचाउ गरेर प्रवक्ता झाले कु–तर्कहरूसहित विज्ञप्ति जारी गरेका छन् ।

प्रवक्ता झाले स्वीकार गर्दै भनेका छन्, ‘विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाको लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको छ । उपसभामुखज्यू लगायत अन्य नेताहरूबाट कुटनीतिक मर्यादासँ सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू भए–नभएको बारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका पक्षमा रास्वपा सधैँ रहिआएको सम्बन्धित सबैमा स्पष्ट पार्न चाहन्छौँ ।’

रास्वपाका प्रवक्ता झाले रानाको उपसभामुख पद बचाउन राजनैतिक रंग दिन खोजेका छन् । झाले भने, ‘संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।’

रास्वपाकी समानुपातिक सांसद समेत रहेकी उपसभामुख रानाले ६ जना (आफूसहित)लाई अमेरिका पठाउनका लागि उपसभामुखको छाप भएको पत्रबाट लेखेर भिसाका लागि सिफारिस गरेको रहस्य बाहिर आएको छ ।

रानाले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको छ ।

सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन् ।

उपसभामुख रानाले पत्रमा आफूसहित सबैका लागि कार्यक्रम महत्वपूर्ण भएको भन्दै संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको बताएकी छिन् ।

उपसभामुख रानाले पत्रमा उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनबहादुर गुरूङ सहभागी हुन लागेको पत्रमा नाम उल्लेख गरेकी छिन् ।

उपसभामुख समेत रहेकी सांसद रानाले रातो पासपोर्ट प्रयोग गर्न पाउँछिन् । तैपनि उनले अन्य ५ जनाको नाम राखेर किन पत्र लेखिन् रहस्यको विषय बनेको छ ।

रानाले उपसभाुमखको पत्रबाट आफूसँग जाने भ्रमण टोलीमा संघीय संसद सचिवालयसँग सम्बन्धित नै नरहेका मानिसहरूलाई ‘डेलिगेट्स’का रूपमा उल्लेख गरेकी छिन् । उनले कस्ता व्यक्तिका लागि आफ्नो पत्रबाट भ्रमणको सहजीकरणका लागि सिफारिस गरिन् भन्ने प्रश्न उठेको छ ।

Published : Sunday, 2024 July 21, 9:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया