कांग्रेस-एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयन गर्न दृढ छौं : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच असार १७ गते भएको ७ बुँदे सहमति कार्यान्वयन गर्न दृढ रहेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने क्रममा देउवाले कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन हुने बताए ।

देउवाले भने, ‘तसर्थ असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिको कार्यान्वयन प्रति नेपाली कांग्रेस दृढ छ, दृढ रहिरहनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

‘नेकपा (एमाले) पनि यस कुरामा दृढ रहनेछ भन्ने कुरामा म पूर्ण रुपले विश्वस्त छु । त्यसैले नेपाली कांग्रेसले सम्माननीय प्रधानमन्त्रीले माग्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्नेछ’, सभापति देउवाले भने ।

उनले भने, ‘अन्य दलहरूलाई सम्माननीय प्र्रधानमन्त्रीज्यूले राख्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्न अपील समेत गर्दछु ।’

सभापति देउवाले भने, ‘वर्तमान सरकारले विधिको शासन, संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानूनहरूको निर्माण, लगानीको उचित वातावरण तयार पार्दै आज देखिएको आर्थिक शिथिलतालाई गतिशील बनाउँदै रोजगारीका थप अवसरहरूको सिर्जना र एउटा चलायमान अर्थतन्त्रको निर्माणमा ठोस योगदान दिने मैले विश्वास लिएको छु ।’

‘सम्माननीय प्रधानमन्त्री अत्यन्त मेहनति, अध्ययनशील र अनुभवी हुनुहुन्छ । उहाँको मन्त्रिमण्डलमा रहेका साथीहरु पनि योग्य र सक्षम हुनुहुन्छ’, देउवाले भने, ‘उहाँको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने छभन्ने मैले विश्वास लिएको छु ।’

‘राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउनका लागि गठन भएको वर्तमान सरकार सफल हुने मैले विश्वास लिएको छु’, उनले भने ।

सभापति देउवाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आज नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव राख्नुभएको छ ।’

‘आम नेपाली जनताको अपेक्षा स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारीको सिर्जना, भौतिक संरचनाको शीघ्र निर्माण नै हो’, देउवाले भने, ‘हामीले यस दिशामा प्रगति हासिल गर्नाका साथै आज देखिएको निराशा आशामा बदलिने छ ।’

उनले भने, ‘वर्तमान सरकारले यो दिशामा तीव्रताका साथ काम अगाडि बढाउँदै जनतामा आशा र भरोसा जागृत गर्ने छ भन्ने मैले विश्वास लिएको छु । देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी छ ।’

‘आजको संसदको संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन भएको छ’, सभापति देउवाले भने ।

‘वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने छ, मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशिल अर्थतन्त्रका माध्यमबाट देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्नेछ’, सभापति देउवाले भने ।

‘यसबाट राजश्वमा थप वृद्धि भइ जनचाहना अनुसारका विकास निर्माणका काम गर्न पनि सकिनेछ’, उनले भने ।

‘भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्पm अग्रसर गराउन आवश्यक छ’, सभापति देउवाले भने, ‘संविधान प्रारम्भ भएको आठ वर्ष पुरा भएको छ । यसका सवल तथा दुर्वल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास हो ।’

‘संविधान संसोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गरिनेछ’, देउवाले भने, ‘संविधान संसोेधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरूबीच सम्बाद र सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौं ।’

‘गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले)का बिचमा सहमति भएको अवगत नै छ । सोही अनुसार नेकपा एमालेका नेता केपी शर्मा ओली नेपाली कांग्रेस समेतको समर्थनमा संविधानको धारा ७६ कोे २ अनुसार असार ३१ गते प्रधानमन्त्रीमा नियुक्त भइ विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्तुत हुनु भएको छ’, देउवाले भने ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको वर्तमान सरकारले जनचाहना बमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने नै छ’, सभापति देउवाले भने ।

Published : Sunday, 2024 July 21, 4:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया