कांग्रेस नेता गुरुङद्वारा तिमाङ-स्यार्क्यु खोलाको पुल पुनर्निर्माणको पहल, छिट्टै सुचारु गरिने

चामे । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद टेकबहादुर गुरुङले मनाङमा बाढीले बगाएको तिमाङ र स्यार्क्यु खोलाको पुल पुनर्निर्माण गरी छिट्टै सुचारु गरिने बताएका छन् ।

पूर्वराज्यमन्त्री समेत रहेका कांग्रेस नेता गुरुङले अवरुद्ध रहेको पुललाई पुनर्निर्माण गरी सञ्चालन गर्न लागिएको बताए । वर्षाका कारण बाढीले असारको तेश्रो साता बगाएको चामे गाउँपालिका वडा नं. १ स्थिति बेशिसहर चामे सडकअन्तर्गत तिमाङ र स्याक्र्यु खोलाको पुल पुनर्निर्माण गरी छिट्टै सञ्चालनमा ल्याउन लागिएको सांसद गुरुङले बताए ।

बाढीले तिमाङ र स्यार्क्यु खोलाको पुल बगाएपछि यात्रुले सवारी साधन बदलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । अवरुद्ध सडक जतिसक्दो छिटो सूचारु गर्न आफूले पहल थालेको सांसद गुरुङलले बताएका छन् ।

उनले भने, ‘असारको तेश्रो सातामा अविरल वर्षापछि आएको बाढीले तिमाङ खोला र नजिकैको अर्को स्यार्कु खोलामा रहेको पुल बगाएर मनाङका सडक उपभोक्ताहरूले यातायात आवागमनमा निकै ठूलो कठिनाइ भोग्दै आएका छन् । वर्षा याम अझै जारी छ ।’

‘अस्थायी रुपमा भए पनि मनाङको पुल पुनर्निर्माण गरी सडक सूचारु गर्न हामी सम्बद्ध सबै पक्षसँग सहकार्य गरेर आवश्यक श्रोत र साधनको व्यवस्था गरी पुल सूचारु गर्ने तयारी गरिरहेका छौं’, नेता गुरुङले भने ।

पुल बगाउँदा लमजुङको बेशिसहर र मनाङको चामे जोड्ने सडकखण्ड अवरुद्ध हुँदा माथिल्लो मनाङको ३ वटा स्थानीय तहका सडक सञ्जाल प्रभावित बन्न पुगेको छ । एउटा पक्की पुल र एउटा काठेपुल प्रयोगमा रहेको उक्त सडकमा वर्षायाममा हरेक वर्ष यस किसिमको समस्या रहँदै आएको छ ।

यसअघि २०७८ मा आएको बाढीले चामे, तालगाउँ, धारापानीलगायतका क्षेत्रमा ठूलो क्षति भाएको थियो । मस्र्याङ्दीमा पहिरो खसेर नदी थुनिँदा चामे र ताल बजार डुबानमा परेको थियो ।

Published : Monday, 2024 July 22, 9:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया