सहकारी ठगलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सहकारीको रकम अपचलन र ठगी गर्नेहरू जो कोही भए पनि कानूनको दायरामा ल्याएर कारबाही गर्ने चेतावनी दिएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नहरूको जवाफ दिँदै ओलीले मिटरब्याज, सहकारी, लघुवित्त लगायतका क्षेत्रका ठगहरूलाई कारबाही गर्ने बताएका हुन् ।

ओलीले भने, ‘मिटरब्याज, सहकारी, लघुवित्तका क्षेत्र तथा क्रिप्टो करेन्सीको प्रयोग तथा हुण्डीलगायतका माध्यमबाट ठगीका घटना बढ्दै गएकाले यस प्रकारका आर्थिक अपराधका घटनामा विद्यमान स्रोतसाधन र उपलब्ध जनशक्तिबाट प्रभावकारी रूपमा अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याइनेछ ।’

‘वजेट वक्तव्यमा उल्लेख भएको भरतपुर–बुटवल–पोखरा (मुग्लिन) भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुजको परियोजना निजी क्षेत्रसँगको सहकार्यमा एकीकृत विकासको अवधारणा अनुरूप नमूना विकास अभियान सञ्चालन गर्नेगरी कार्यक्रम ल्याइएको हो’, ओलीले भने ।

‘यस कार्यक्रमबाट यातायात पूर्वाधारको विकास मात्र नभई औद्योगिक विकासका साथै ऊर्जा क्षेत्र, कृषि तथा पर्यटन क्षेत्रको विकास एवं रोजगारीका अवसरहरू सिर्जना हुने विश्वास लिएको छु’, उनले भने, ‘प्रस्तुत गण्डकी त्रिभूज आयोजनाअन्तर्गत पर्ने बुटवल – पोखरा (सिद्धार्थ राजमार्ग) सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छभने सिद्धबाबा सुरुङ मार्गको कार्य अन्तिम चरणमा पुगेको छ ।’

उनले भने, ‘चालु आर्थिक वर्षको पहिलो त्रैमासिकबाटै काम गर्नेगरी बजेट कार्यान्वयन कार्ययोजना तयार भइसकेको छ ।’

‘यस सन्दर्भमा साउन महिनाबाटै काम अगाडि बढाउनेगरी सम्बन्धित निकायलाई निर्देशन समेत भइसकेको छ’, ओलीले भने, ‘प्रस्तुत सडकलाई सुरक्षित, छिटो गतिमा आधुनिक एवं आर्थिक करिडोरको रूपमा विकास गर्न निजी पूँजी समेत परिचालन गर्नेगरी नवीनतम् विधिमा विकास सहायतासमेत परिचालन गर्नेगरी प्रक्रिया अगाडि बढाइएको समेत जानकारी गराउन चाहन्छु ।’

Published : Monday, 2024 July 22, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया