सांसद भट्टचनले उत्तरगंगा जलविद्युत् आयोजनाबारे प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले के भने ?

काठमाडौं । नेकपा (एमाले)का सांसद देवीप्रकाश भट्टचनले ८२८ मेगावाट क्षमताको उत्तरगंगा जलाशयुक्त जलविद्युत् आयोजनाको काम कहिले सुरु हुन्छ भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद भट्टचनले प्रधानमन्त्री ओलीलाई भनेका छन्, ‘८२८ मेगावाटको उत्तरगंगा जलाशयुक्त आयोजना कहिले सुरु हुन्छ ?’

सांसद भट्टचनले बागलुङस्थित उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाबाट कूल १७२६ मेगावाट उत्पादन हुने र हिउँद याममा १०० प्रतिशत उत्पादन दिने योजना कहिले सुरु हुन्छ ? भनी प्रधानमन्त्री ओलीसँग जवाफ माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणको एनइए इन्जिनियरिङ कम्पनीले सम्भाव्यता अध्ययन प्रतिवेदनको समीक्षा गरिरहेको जवाफ सांसद भट्टचनलाई दिएका छन् ।

कम्पनीबाट अन्तिम प्रतिवेदन प्राप्त भएपछि निर्माण र लगानीको मोडालिटी निर्क्योल गरी आगामी ४ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘आयोजना विकास गर्न २०७४ सालमा उत्तरगंगा पावर कम्पनी लिमिटेडको स्थापना गरी काम अघि बढाइएको छ, हालसम्म आयोजनाको सम्भाव्य अध्ययन र वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भइसकेको छ’, प्रधानमन्त्री ओलीले भने ।

‘जग्गा अधीग्रहणको काम अघि बढाइसकेको छ, विद्युत् उत्पादन अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा आवेदन दिइएको छ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

सांसद भट्टचनले नेपाली मालवाहक पानीजहाज अन्तर्राष्ट्रिय समुद्री मार्गमा सञ्चालन गर्नका लागि संसदमा पेस भएको विधेयक विगत ४ वर्षयता अलपत्र अवस्थामा रहेकोले सो विधेयक कहिलेदेखि छलफलमा ल्याउने र पास गर्ने सरकारको योजना रहेको समेत प्रश्न गरेका थिए ।

प्रधानमन्त्री ओलीले पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा पेस गर्ने प्रक्रियामा रहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट गत असार २७ मा संसद्मा पेस गर्ने प्रयोजनार्थ स्वीकृत भइसकेको र संसदमा पेस हुने प्रक्रियामा रहेको बताएका छन् ।

Published : Monday, 2024 July 22, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया