ओखलढुङ्गाका भूकम्प प्रभावितकाे तेस्रो किस्ता र पहिरोपीडितलाई उचित व्यवस्था गर्न खतिवडाद्वारा माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुङ्गा जिल्लाका भूकम्पपीडितहरूले तेस्रो किस्ता रकम नपाएको भन्दै छिटोभन्दा छिटो रकम निकाशा गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले भने, ‘२०७२ सालमा गएको भूकम्पले निर्माण हुनुपर्ने ओखलढुङ्गाका घरहरूमा पहिलो किस्ता र दोस्रो किस्ता रकम पाएको, तेस्रो किस्ता नपाएका धेरै घरहरू छन् ।’

‘चार करोडभन्दा बढि रकम त्यहाँ निकाशा हुन बाँकी छ । यथाशीघ्र जिल्लामा पठाउने व्यवस्था होस्’, उनले भने ।

सांसद खतिवडाले वर्षाले प्रभावित ओखलढुङ्गाका जनताका विषयमा गम्भीर भएर सोँच्न सरकारसँग आग्रह गरेका छन् ।

‘अबिरल वर्षाका कारणले ओखलढुङ्गाको मोलुङ गाउँपालिका बसेपात्लेमा ठूलो क्षति भएको छ’, खतिवडाले भने, ‘विद्यालय भवन भत्किएका छन् । त्यहाँको बस्तीहरूलाई स्थान्तरण गरेर राम्रो बस्ने व्यवस्थाको लागि अनुरोध गर्न चाहन्छु ।’

Published : Monday, 2024 July 22, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया