किन दुर्घटनामा भयो सौर्यको जहाज ? क-कसको गयो ज्यान ? र कहिले बनेको थियो जहाज ?

काठमाडौं । पूर्ण परीक्षण (सी–चेक)का लागि पोखरा जान उडेको सौर्य एयरलाइन्सको सीआरजे ७०० ९एन–एएमई जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन् । पाइलट मनीषरत्न शाक्य घाइते छन् ।

जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु र १ जनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ ।

जहाज सी–चेकका लागि पोखरा जान लागेको थियो । त्रिभुवन विमानस्थलबाट उडेको २० सेकेण्डपछि बिहान ११ बजेर ११ मिनेटमा जहाज ढलपल–ढलपल गरेको थियो । जहाज दाहिनेतर्फ मोडियो र भुइँमा बजारिन पुगेको थियो ।

जहाजबाट धुवाँ आएको थियो । त्यसपछि आगो लागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । जहाजमा आगो लागेपछि पड्किएको आवाज आएको थियो । जहाज दुर्घटना हुनुको कारण खुलेको छैन ।

यसैबीच, सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बुधबार आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

आयोगका सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । आयोगलाई ४५ दिन म्याद दिइएको छ ।

आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन आन्तरिक वायु सेवा चलाइरहेका सबै वायुसेवाले नियमित हवाई परीक्षण गराउनुपर्ने र त्यसको नेपाल नागरिक उड्डयान प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णय समेत भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले बताए ।

सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार दुर्घटना भएको सौर्य एयरलाइन्सको ९एन–एएमई सन् २००३ को अप्रिल १० मा तैंयार भएको क्यानाडाको बम्बार्डियर सीआरजे–२००ईआर जहाज हो । यो जहाज सोही वर्षको मई २९ मा अमेरिकाको एटलान्टिक कोष्ट एयरलाइन्सले किनेर यूनाइटेड एक्सप्रेसलाई भाडामा उडाउन दिएको थियो । यसपछि सन् २००४ को अगष्ट ४ मा यो जहाज अमेरिकाको इन्डिपिडियन्स एयरको साथमा पुग्यो । सन् २००६ को जनवरी ५ बाट १८ सम्म यो जहाजलाई उडानका लागि रोकिएको थियो । त्यसपछि २००७ को जुन १५ सम्म यसलाई स्टोर गरेर राखियो ।

सन् २००७ को जुन २१ मा यो जहाज पूर्ण मर्मतपछि नाइजेरियाको एरिक एयरको साथ पुग्यो । सन् २००८ को मार्च २० मा यस जहाजलाई साउथ अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेस एयरवेजले किनेर उडाउन थाल्यो । सन् २०१६ को अक्टोवर पछि यो जहाजलाई उडानमा रोक लागेपछि स्टोर गरेर राखिएको थियो । २७ जनवरी २०१७ मा यसको स्वामित्व स्ट्राटेजिक एयर फाइनान्सले लियो । त्यसपछि २७ फेब्रुअरीमा बैंक अफ उटाहले लियो । अन्तमा सन् २०१७ को मार्च १४ मा नेपालको सौर्य एयरलाइन्सले किनेको थियो ।

२१ वर्ष भइसकेको यो जहाज मर्मतका लागि पोखरा लैजाँदै गर्दा दुर्घटना भएको भन्ने सौर्य एयरलाइन्सको भनाइ रहेको छ । यसमा अधिकांश सौर्य एयरलाइन्सकै कर्मचारीहरू रहेको बताइएको छ ।

मृत्यु हुनेमा को–पाइलट सुशान्त कटुवाल तथा यमनका नागरिक अरिफ रेडा पनि रहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुने १८ जनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अश्विनी निरौला, सुदीपलाल जोशी, सर्वोश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य रहेका छन् ।

त्यसैगरी, प्रिजा खतिवडा, अधिराज शर्मा (बच्चा), उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही, आरेफ रेडा (यमनी नागरिक) र को–पाइलट सुशान्त कटुवालको मृत्यु भएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2024 July 24, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया