रुस-युक्रेन युद्धमा परेका ३ सय २३ नेपालीले उद्धार गर्न निवेदन दिए : मन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले रुस–युक्रेन युद्धमा परेका ३ सय २३ जना नेपालीले उद्धारका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएको बताएकी छिन् ।

बुधबार सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा बोल्दै डा.राणाले सम्पर्कमै नरहेको भनी खोजी र फिर्ताका लागि निवेदन दिएको संख्या ११६ जना रहेको बताएकी छिन् ।

डा.राणाले उद्धारका लागि उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको बताएकी छिन् । उनले मस्कोस्थित नेपाली राजदूतावासले समन्वय गरी रुसी सेनाबाट नेपाल फर्काउन पहल भइरहेको बताइन् ।

हालसम्म रुसी सेनामा ज्यान गुमाएकाको संख्या ३४ जना रहेको र डीएनए परीक्षणका लागि दिइएको संख्या २२ रहेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् । उनले युक्रेनमा ६ जना युद्धबन्दी रहेको बताइन् ।

डा.राणाले घाइते भई उपचाररत ५ जनामध्ये एकजना नेपाल फिर्ता भइसकेको बताएकी छिन् । उनले रुस पुगेकामध्ये १५० जना नेपाल फर्किसकेको बताइन् । उनले भनिन्, ‘रुससँग उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको छ ।’

परराष्ट्रमन्त्री डा.राणाले प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका नेपाली विपिन जोशीको उद्धारका लागि नेपाल सरकारले सुरुदेखि नै उच्च तहमा द्विपक्षीय र बहुपक्षीयस्तरमा कूटनीतिक पहल निरन्तर रुपमा गर्दै आइरहेको बताइन् ।

गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको पनि मृत्यु भएको थियो भने जोशीलाई कब्जा गरेर लगेका छन् ।

Published : Wednesday, 2024 July 24, 11:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया