लुम्बिनीमा कांग्रेसका मन्त्रीहरूलाई शपथ, छोटो समय मन्त्री बनेका रोज राणा दोहोरिए

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट ४ जना मन्त्रीहरूले शपथ लिएका छन् ।

बुधबार बुटवलमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चेतनाथ आचार्य (एमाले)सहित कांग्रेसका ४ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

एमालेबाट १ मुख्यमन्त्रीसहित ५ जनाले शपथ लिएका छन् । कांग्रेस र एमालेका ९ मन्त्रीले शपथ लिएका छन् ।

मन्त्रीहरूको जिम्मेवारी तोकिएको छैन । साना दलहरूलाई पनि समेट्ने प्रयास भइरहेकाले केही दिनपछि मात्र जिम्मेवारी तोकिने नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताएका छन् ।

कांग्रेसबाट बाँकेका बादशाह कुर्मी, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा र दाङका प्रचण्डविक्रम न्यौपानेले मन्त्री पदको शपथ लिएका छन् ।

कांग्रेसका ४ मन्त्रीमध्ये राणा दोस्रो पटक मन्त्री बनेका छन् । अन्य ३ जना नयाँ मन्त्रीहरू हुन् । राणा अनुभवी मन्त्रीमा पर्छन् ।

यसअघि मन्त्री बनेका बेला राणाले यातायातको क्षेत्रमा रहेको बेथितिलाई हटाउने प्रयास गरेका थिए । चालक अनुमतिपत्रमा देखिएको बेथिति र अनियमिततालाई राणाले हटाउन ठूलो क्रान्तिकारी कदम उठाएका थिए ।

नेकपा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका छन् ।

उता, एमालेको संसदीय दलका उपनेता समेत रहेका आचार्यले शपथ लिएकै दिन संसदीय दलको नेता लीला गिरीले पदबाट राजीनामा दिएका छन् ।

Published : Thursday, 2024 July 25, 12:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया